काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी नौदिने राजकीय भ्रमणका लागी आज चीन प्रस्थान गर्दै हुनुहुन्छ ।

चिनियाँ राष्ट्रपति सी जीन पिङको निमन्त्रणामा राष्ट्रपति भण्डारी गणतन्त्र चीनको राजकीय भ्रमण तथा दोस्रो बेल्ट एण्ड रोड फोरम सहित तीन महत्वपूर्ण कार्यक्रममा सहभागी हुन चीन जान लाग्नुभएको हो । नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि यसअघि पहिलो राष्ट्रपति डा रामवरण यादवले पनि चीनको भ्रमण गर्नुभएको थियो । राष्ट्रपति भण्डारीले बेइजिङमा आयोजना हुने ‘सेकेण्ड बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेशन’मा समेत सहभागीता जनाउनुहुनेछ ।

यसै अवधिमा उहाँ चिनियाँ समकक्षी सीले आयोजना गर्ने राजकीय भोज तथा अन्तराष्ट्रिय फलफूल प्रदर्शनीको उद्घाटन समारोहमा पनि सरिक हुने कार्यक्रम रहेको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले बताउनुभयो । यो प्रदर्शनीमा नेपाल मण्डपको समेत व्यवस्था रहनेछ । यस्तै राष्ट्रपति भण्डारी र चिनियाँ समकक्षीबीच प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता पनि हुनेछ ।

वार्तापछि पारस्परिक सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने र राष्ट्रपति भण्डारीको वरिष्ठ चिनियाँ अधिकारीसँग बेग्लाबेग्लै भेटवार्ता हुने मन्त्री ज्ञवालीले जानकारी दिनुभयो । राजधानी बेइजिङमा रहँदा राष्ट्रपति भण्डारीले चिनियाँ र नेपाली व्यापारिक समुदायलाई संयुक्त रुपमा सम्बोधन गर्ने र बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुने कार्यक्रम छ ।

राष्ट्रपति भण्डारीकासँगै प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, संघीय संसद्का सदस्य, नेपाल सरकारका उच्च अधिकारी, चीनका लागि नेपाली राजदूत, उद्योगी–व्यवसायी र सञ्चारकर्मीसहितको टोली रहनेछन् ।

राष्ट्रपति भण्डारी यही वैशाख १९ गते स्वदेश फर्कनुहुने कार्यक्रम छ ।

Comments

comments