काठमाडौं । आज वैशाख ११ गते विभिन्न कार्यक्रम गरी लोकतन्त्र दिवस मनाइदैछ ।

विक्रम संवत २०६२–६३ को जनआन्दोलन सफल भई २०६३ वैशाख ११ गते नेपालमा लोकतन्त्र स्थापना भएको सम्झनामा आज देशभर लोकतन्त्र दिवसको सम्झना गरिँदैछ । २०६३ वैशाख ११ गते राति आन्दोलनरत सात राजनीतिक दलको मार्गचित्रअनुसार तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०५९ साल जेठ ८ गते विघटन भएको संसद् पुनःस्थापना गर्नुभएको थियो । पुनःस्थापित संसद्को जेठ ४ गतेको बैठकले राजसंस्थालाई निलम्बन गर्दै कार्यवाहक राष्ट्राध्यक्षको अधिकारसमेत प्रधानमन्त्रीलाई दिएको थियो ।

लोकतान्त्रिक आन्दोलनका कमाण्डर नेपाली काँग्रेसका तत्कालीन सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सर्वदलीय सरकारले २०६४ चैत २८ गते पहिलो संविधानसभाको निर्वाचन गराएको थियो । संविधानसभाको २०६५ साल जेठ १५ गतेको बैठकले नेपालमा राजतन्त्र अन्त्य भएको घोषणा गर्दै नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राष्ट्र बनाएको थियो ।

लोकतन्त्र स्थापनापछि दोस्रो पटक भएको संविधान सभा निर्वाचनबाट संघीय गणतन्त्र नेपालको नयाँ संविधान जारी गर्यो भने गत वर्ष स्थानीय तह,प्रदेश र संघ गरी तिनै तहको निर्वाचन समेत सम्पन्न भई संविधान कार्यान्वयन समेत भैसकेको छ ।

वैशाख ११ को परिवर्तनले हिंसा र निरङ्कुशता दुवैको अन्त्य गराएको छ । वैशाख ११ गतेको जगमा देशमा ठूला परिवर्तन भए पनि पछिल्लो समय यो दिन बिरानो बन्दै गएको छ । नेपालको इतिहासमा महत्वपूर्ण यस दिनलाई पछिल्लो सरकारहरुले बिर्सदै गएका छन् ।

Comments

comments