मेलबर्न । आगामी मे १८ मा हुन गइरहेको अष्ट्रेलियाको सङ्घीय निर्वाचनमा नेपालीमुलका भुवन खड्काले उम्मेदवारी दिनुभएको छ ।

संसदको माथिल्लो सदनका लागि खड्काले ग्रीन्स पार्टीको तर्फबाट उम्मेदवारी दिनुभएको हो । खड्का ग्रीन्स उम्मेदवारहरूको सुचीमा चौथो नम्बरमा रहेका छन्। त्यसैले चुनावमा ग्रीन्स पार्टीले सीट जित्न सफल भए पनि उनि भन्दा अगाडिका तीनवटै उम्मेदवारहरू केही कारण बस संसदमा नरहने परिस्थिति आए मात्र खड्काले सिनेट सदस्य बन्न पाउनुहुनेछ ।

सन् २००८ मा नेपालबाट अष्ट्रेलिया आउनुभएका खड्काले दुई वर्ष अघि पनि पश्चिम अष्ट्रेलियाको राज्य निर्वाचनमा बेल्मन्ट नामक निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दिनुभएको थियो ।

२०१४ देखि अष्ट्रेलियन राजनीतिमा सामान्य सहभागिता जनाउन थाल्नुभएका खड्का २०१६ मा भएको राज्यस्तरको निर्वाचनमा उम्मेदवारी पाए पछि सक्रिय राजनीतिमा होमिनुभएको हो । पहिले उहाँ लेबर पार्टीप्रति झुकाव राख्नुहुन्थ्यो ।

तर ग्रिन्स पार्टीको जलवायु परिवर्तन र आप्रवासन सम्बन्धी नीतिले गर्दा यो पार्टी प्रति आफ्नो लगाव बढेको उहाँको भनाइ छ ।

Comments

comments