दार्जिलिङ । भारतको पश्चिम बङ्गाल अन्तर्गत दार्जिलिङमा आज लोकसभा चुनाव हुँदैछ।

नेपाल नाका जोडिएका भारतीय भेगमा हुन लागेको चुनावले नेपाल भारत सीमा ४८ घण्टाका लागि बन्द गरिएको छ। पश्चिम बङ्गलाको दार्जिलिङ, जलपाइगुडी, रायगञ्ज र विहारको किसनगञ्ज, कटिहार, पूर्णिया, भागलपुर र बाँका लगायत ९७ सिटका लागि लोकसभा निर्वाचन हुँदैछ।

दार्जिलिङ सिटका लागि भारतीय जनता पार्टीका राजु सिंह बिष्ट र तृणमुल कांग्रेसका अमर सिंह राइबीच कडा टक्कर हुने आँकलन गरिएको छ। त्यसो त दार्जिलिङ निर्वाचन क्षेत्रबाट अन्य दलका उम्मेद्वार पनि चुनावी मैदानमा छन् तर यी दुई प्रत्याशीबीच टक्कर निकटको हुने धेरैको अनुमान छ।

प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको दल भाजपा र पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बेनर्जी नेतृत्वको दल तृणमूल कांग्रेसबीचको चुनावी टक्करमा दार्जिलिङ बजारको मत हारजितका लागि निर्णायक हुनेछ।

नेपालीभाषी बाहुल्य दार्जिलिङ, खर्साङ, कालिम्पोङ, मिरिक, सिलिगुडीका विभिन्न बुथहरूमा मतदान सुरु भएको छ।

Comments