काठमाडौं । नेपाली दुई युवा वैज्ञानिक हरिराम श्रेष्ठ र आभाष मास्केले बनाएको ‘नेपालीस्याट–१’ नामक भू–उपग्रह प्रक्षेपण गरिएको छ।

‘नेपालीस्याट(१’ नाम दिइएको उक्त स्याटालाइट नयाँ वर्षको अवसर पारेर बैशाख ५ गते बिहीबार २ बजेर ३१ मिनेटमा अमेरिकाको भर्जिनियामा अवस्थित वल्लोप्स द्वीपस्थित प्रक्षेपण केन्द्रबाट ‘नेपालीस्याट–१’ स्याटेलाइट प्रक्षेपण गरिएको हो।

‘नेपालीस्याट–१’ सँगै श्रीलंकाको रावन–१ र जापानको युगुसु भूउपग्रह प्रक्षेपण गरिएको नासाले जनाएको छ।

जापानको क्युटेक विश्वविद्यालयसँग सहकार्यमा तीनै देशका विद्यार्थीहरुले बनाएका हुन। नेपालीस्याट(१ लाई नेपालबाट इलेक्ट्रिकल र कम्युनिकेसन इन्जिनियरिङमा स्नातकोत्तर गरिरहेका नास्टका प्राविधिक अधिकृत हरिराम श्रेष्ठ र स्पेस टेक्नोलोजी इन्जियिरिङमा विद्यावारिधि गरिरहेका नेपाली वैज्ञानिक आभाष मास्केले बनाएका हुन। क्युटेकको बर्डस परियोजना अन्तर्गतको छात्रवृत्तिमा नानो भू–उपग्रह निर्माण भएको हो।

नेपाली युवाले बनाएको भू–उपग्रह नेपालको आकाशमा दैनिक ५ देखि १० मिनेटसम्म रहनेछ।यो ‘नेपालीस्याट–१’ दैनिक नेपालको फोटो देशका विभिन्न स्थानको तस्वीर सङ्कलन तथा यहाँका हिमाल, पहाड, तराई, वन, पाखा हिमनदी, सडक र बाढीका बारेमा सूचना दिनेछ।

भू उपग्रह अन्तरिक्षमा पुगेपछि एक महिनासम्म इन्टरनेसनल स्पेस स्टेसन (आईएसएस) मा रहनेछ।

विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का प्रविधि विभागका प्रमुख प्रा डा रविन्द्र ढकालका अनुसार यो भू–उपग्रह केही समयसम्म अन्तरिक्षको बाहिरी भागमा रहन्छ र त्यसपछि अन्तरिक्षमा घुम्न थाल्नेछ।

यो भू–उपग्रहबाट नेपालले रिमोट सेन्सिङ्ग भनिने प्रविधिको फाइदा लिन सक्छ। उक्त रिमोटको सहयताले नेपालले आफ्नो भूभागको मौसम, पानी, तापक्रम आदि समेटिएका तस्बिरहरू प्राप्त गर्न सक्छ। यति मात्र नभएर ती तस्बिरहरू सञ्चारमाध्यममा छाप्न उपयोगी हुनेछन् भने यो भू–उपग्रह अन्तरिक्षमा तीन महिनादेखि एक वर्षसम्म सञ्चालनमा रहनेछ।

Comments

comments