एजेन्सी । अमेरिकाकी होमल्याण्ड सेक्युरिटी मन्त्री कर्स्टजेन निएल्सनले राजीनामा दिएकी छन् । सीमा सुरक्षा सम्बन्धी राष्ट्रपति डोनाल्ड ट्रम्पका केही विवादस्पद नियमहरु कार्यान्वयन गरेकी मन्त्री कर्स्टजेनले राजीनामा दिएकी हुन् ।
उनले होमल्याण्ड सेक्युरिटी मन्त्रालयमा रहेर काम गर्न पाउनु सम्मानको कुरा रहेको उल्लेख गरेकी छन् । उनको ठाउँमा तत्कालका लागि कस्टम एण्ड बोर्डर प्रोटेक्ससन कमिसनर केविन म्याकएलीननले जिम्मेवारी सम्हाल्ने राष्ट्रपति ट्रम्पले ट्वीट गरेर जानकारी दिएका छन् ।
कर्स्टजेनको कार्यकालमा प्रस्तावित सीमा पर्खाल तथा आप्रवासी परिवारलाई विभाजन गर्नेसहितका नियम कार्यान्वयन भएका छन् ।उनले आफ्नो राजीनामा पत्रमा राजीनामाको कारण खुलाएकी छैनन् तर उनले राजीनामाका लागि उपयुक्त समय रहेको भने उल्लेख गरेकी छन् । अमेरिका आफूले जिम्मेवारी सम्हाल्दाको समय भन्दा अहिले सुरक्षित रहेको उनले दाबी गरेकी छन् । उनी सन् २०१७ काे डिसेम्बरदेखि पदमा थिइन् ।
राष्ट्रपति ट्रम्पले देशको दक्षिणी सीमा क्षेत्रको भ्रमण गरेको केही दिनपछि नै उनले राजीनामा दिएकी हुन् । ट्रम्पले पछिल्लो समय मेक्सिकोसँगको सीमा बन्द गर्ने चेतावनी दिँदै आएका छन् ।