काठमाडौं । पञ्चायती व्यवस्थाविरुद्ध ०४६ साल चैत्र २४ गते राजधानीमा उर्लिएको आन्दोलनलाई स्मरण गर्दै प्रत्येक वर्ष आजको दिनलाई केही राजनीतिक दलले जनआन्दोलन दिवसका रुपमा सम्झने गरेका छन् ।

तत्कालीन ‘संयुक्त जनआन्दोलन संयोजन समिति’ले ०४६ साल चैत २४ गते काठमाडौंमा आन्दोलनको घोषणा गरेको थियो । सोही दिन आन्दोलनको जनसागर नारायणहिटी दरबारतर्फ अघि बढेको थियो । त्यसको तीन दिनपछि चैत २७ गते तत्कालीन राजा वीरेन्द्रले बाध्य भएर बहुदलीय व्यवस्था घोषणा गर्नुभएको थियो ।

तत्कालीन जनआन्दोलन संयोजन समितिमा पुष्पकमल दाहाल नेतृत्वको नेकपा मशाल, मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल र रुपलाल विश्वकर्मा नेतृत्वको सर्वहारा श्रमिक संगठन लगायतका साना दल आवद्ध थिए । यसको संयोजकमा डा. बाबुराम भट्टराई हुनुहुन्थ्यो । पञ्चायती व्यवस्था विरुद्ध भएको संघर्षमा कांग्रेस र सातवटा वामपन्थी दलहरुले पनि सहकार्य गरेका थिए । कांग्रेससँग सहकार्य गरेको वामपन्थी मोर्चामा तत्कालीन नेकपा माले, नेकपा माक्र्सवादी र निर्मल लामा नेतृत्वको नेकपा (चौम) लगायतको सहभागिता थियो ।

तर २०६२–०६३ को लोकतान्त्रिक आन्दोलन पछि भने दलहरुले चैत २४ मा जनआन्दोलन दिवस मनाउन छोडेको छ ।

Comments

comments