एजेन्सी ।  विश्व फुटबलका महान खेलाडी पेलेको स्वास्थ्यमा सुधार आएको छ । पिसाबमा समस्या देखिएपछि ब्राजिलका पेलेलाई पेरिसमा रहेको अस्पतालमा भर्ना गरिएको हो । उनको अवस्था अहिले निकै राम्रो रहेको उपचारमा संलग्न डाक्टरले बताएका छन् ।

पेरिसमा फ्रेन्च लिग वान फुटबल क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) का केलिएन एमबाप्पेसँगको एक प्रोसनल इभेन्टपछि बुधबार पेलेलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

पेलेले ट्वीट गरेर आफ्नो स्वास्थ्यमा सुधार हुँदै गएको उल्लेख गरेका छन् । ७८ वर्षका पेलेले ट्वीटमा लेखेका छन्, ‘एन्टिबायोटिकले काम गरिरहेको छ र परीक्षणको रिपोर्ट पनि राम्रो आएको छ । मलाई लाग्दैछ कि म फेरि खेल्नका लागि तयार हुँदैछु ।’

पछिल्ला वर्षमा पेलेको मृगौला तथा प्रोस्टेटसहितका अंगमा समस्या देखिँदै आएको छ । विश्वका सर्वकालीन महान फुटबल खेलाडी पेलेले आफ्नो २१ वर्षको खेल जीवनमा १३६३ खेलमा १२८१ गोल गरे । उनले ब्राजिलबाट ९१ खेलमा ७७ गोल गरेका थिए ।

Comments

comments