काठमाडौं । प्रदेश नम्बर–२ मा स्थगित गरिएको एसइई परीक्षा आजदेखि पुनः सञ्चालन हुँदैछ ।

अंग्रेजी, गणित र नेपाली विषयको परीक्षा भइसकेपछि त्यसपछिका विषयको प्रश्नपत्र बाहिरिएपछि रोकिएको परीक्षा आज शुक्रवारदेखि पुनः सन्चालन गर्न लागिएको हो । जस अन्तर्गत आज विज्ञान विषयको परीक्षा हुँदैछ । प्रदेश–२ का ७० हजार ५६८ परीक्षार्थी परीक्षामा सामेल हुनेछन् । उता बारा र पर्साका हावाहुरीबाट प्रभावित क्षेत्रमा एसइई परीक्षा दिनेहरु नै नभएकाले परीक्षा सन्चालन गर्न कुनै समस्या नहुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

एसईई परीक्षाको प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न दुई प्रहरी, एक शिक्षकसहित ६ जना आरोपीलाई केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले विहीवार सार्वजनिक गरेको छ ।

सिआइबीले उनीहरुलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । प्रदेश २ को १४ र १५ गतेको विज्ञान र सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि परीक्षा स्थगित गरिएको थियो । त्यसपछि सीआईबीले छानबिन टोली पठाएको थियो । सोही टोलीमार्फत् उनीहरुलाई पक्राउ गरिएको हो ।

Comments

comments