मेलबर्न । नेपाल फेष्टिभलको यस पटकको एडिलेड संस्करण यही आउदो बैशाख १ गते अर्थात् एप्रिल १४ का दिन हुने भएको छ ।

नेपाल र नेपाली संस्कृति र पर्यटनको प्रबद्र्धन गर्ने उद्देश्यले हरेक दुई वर्षमा नेपाल फेष्टिभलको आयोजना गरिदै आएको छ ।

अष्ट्रेलियाका प्राय सबै मुख्य शहरमा हुने नेपाल फेष्टिभलका लागि यस पटक नेपाली नयाँ वर्ष अर्थात् वैशाख १ गतेको मिति रोजिएको हो । नेपाली नयाँ वर्षलाई अझ उल्लासमय बनाउन र यहाँको दोश्रो पुस्तासम्म पनि नेपाली चाडपर्व, पहिचान र संस्कृतिलाई लैजान यो मिति रोजिएको एनआरएनए साउथ अष्ट्रेलियाका अध्यक्ष अशोक केसीले बताउनुभयो ।

भिजिट नेपाल २०२० को प्रचार प्रसार नेपाली कला संस्कृति झल्कने पोशाक, नृत्य, संगीत, गायन, मौलिक खानाका परिकार नेपालीबीचको आत्मियता, नेपाली नेपालीबीचको भेटघाटको साथमा नयॉ बर्षको शुभकामना साटासाट गर्न पाइने भएकोले यस पटकको नेपाल फेष्टिबल अझ महत्वपूर्ण हुने केसीले बताउनुभयो ।

नेपाल फेष्टिभलमा यसपटक गायक जीवन शर्मा, बद्री पगेनी, कर्ण दास र सुन्दरी नायिका वेनिसा हमालको प्रस्तुति समेत रहनेछन् । यसअघिको नेपाल फेष्टिभलमा एडिलेडमा कुटुम्ब समूहले आफ्नो प्रस्तुति दिएको थियो ।

Comments

comments