काठमाडौं । भूमध्ये सागरबाट आएको पश्चिमी वायुसँग बंगालको खाडी र अरेबियन सागरबाट आएको वायु प्रणाली मर्ज हुँदा नेपालको बारा र पर्सामा ठूलो भूमरी र हावाहुरी चलेको मौसमविदहरुले बताएका छन् ।

दुई तिरबाट आएको चिसो र तातो हावाका प्रणाली बाराको आकाशमाथि भेट हुँदा भूमरी चलेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले बताउनुभयो । पोखरा हुँदै दक्षिणपूर्व गइरहेको भू मध्य सागरबाट आएको पश्चिमी वायुको प्रणालीसँग भारतबाट उत्तरपूर्व गइरहेको बंगालको खाडी र अरेबियन सागरबाट आएको प्रणाली बाराको आकाशमा एकअर्कामा मर्ज हुँदा ठूलो भूमरी र हावाहुरी चलेको मौसमविद अर्यालको भनाइ छ ।

जमिनको सतहदेखि तीन किलोमिटर माथिबाट बहने पश्चिमी वायुको प्रणाली निकै चिसो हुने उहाँले बताउनुभयो । बंगालको खाडी र अरेबियन सागरबाट आउने प्रणाली जमिनबाट १ देखि डेढ किलोमिटर माथिबाट जाने उहाँले जानकारी दिनुभयो ।

पर्याप्त जलवाष्पसहित आउने यो प्रणाली पश्चिमी वायूभन्दा तातो हुने अर्यालले बताउनुभयो । आइतवार साँझ माथिबाट बेगमा गइरहेको चिसो हावा तलबाट त्यसरी नै आएको तातो हावासँग ठोक्किदा तल झरेको अर्यालले बताउनुभयो । चिसो हावा तल झरेपछि खाली भएको माथिल्लो भागमा तातो हावा गएर त्यही भूमरी बनेको उहाँको भनाइ छ ।

प्रि मनसुनमा यस्तो अन्त पनि हुने गरेको तर बाराको आकाशमा दुईवटा बलिया प्रणाली मिलेकाले हावाको गति निकै तीव्र भएको मौसमविद अर्यालले बताउनुभयो । उहाँका अनुसार हुरी चल्दा हावा प्रतिसेकेण्ड १८ मिटरको गतिमा बहन्छ । आइतवार राति बारामा प्रतिसेकेन्ड ३५ मिटरको गतिमा हावा चलेको देखिएको उहाँले बताउनुभयो । यसको थप अध्ययन गर्न बाँकी रहेको अर्यालले बताउनुभयो ।

उहाँले मौसम पूर्वानुमान महाशाखाले तीन दिनसम्मको मौसम पूर्वानुमान गर्न सक्ने जानकारी दिनुभयो । तर अचानक आउने यस्तो हावा हुरीको पूर्वानुमान गर्न सक्ने प्रविधि भने अहिले महाशाखासँग नरहेको अर्यालले बताउनुभयो ।

Comments