काठमाडौं । प्रश्नपत्र आउट भएपछि एसइई स्थगित गरिएको विरोधमा विद्यार्थीहरुको प्रदर्शनका कारण प्रदेश २ का विभिन्न जिल्ला तनावग्रस्त बनेका छन् ।

विद्यार्थीहरुको प्रदर्शनका कारण आज बिहानैदेखि सप्तरी,धनुषा र बाराको स्थिति तनावग्रस्त बनेका छ । सप्तरीको खडक नगरपालिका वडा नम्बर ३ मा विद्यार्थीहरूले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । यसैगरी सदरमुकाम राजविराजमा पनि विद्यार्थीहरुले टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

यता बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा प्रहरी र विद्यार्थी बिच झडप भएको छ । विद्यार्थी र प्रहरीबीच भएको झडपमा प्रहरी जवान निरु श्रेष्ठ घाइते भएका छन् । परीक्षा स्थगित भएको विरोधमा विद्यार्थीले विरगंज पथलैया सडक अवरुद्ध गरेपछि प्रहरीले लाठि चार्ज गरेको हो । यसैगरी प्रहरीको कुटाईबाट रमिता चौधरी घाईते भएको र निजको अवस्था चिन्ताजनक रहेको छ । चौधरी जीतपुरसिमरा उपमहानगरपालिका ५ बकुलिया स्कुलमा अध्ययनरत छात्रा हुन । उनलाई उपचार गराउन नारायाणी उपक्षेत्रीय अस्पताल विरगंजमा लगिएको छ ।

आन्दोलनरत विद्यार्थीले बाराको जीतपुरमा प्रहरी भ्यानमा आगजनी गरेका छन् । माध्यमिक शिक्षा परीक्षा (एसईई)को प्रश्नपत्र बाहिरिपछि स्थगित परीक्षाको विरोधमा विद्यार्थीले जीतपुरस्थित इलाका प्रहरी कार्यालयको ना १ झ ७१२ नम्बरको भ्यानमा आगजनी गरेका हुन् । विद्यार्थी प्रदर्शनलाई तितरवितर पार्न बाराको जितपुरमा प्रहरीले ६ राउण्ड हवाई फायर गरेको छ । विद्यार्थीले जितपुरस्थित चौकी अगाडि रोकिराखेको प्रहरी भ्यानमा आजगनी गरेपछि प्रहरीले हवाई फायर गरेको हो । अवरुद्ध राजमार्ग खुलाउन प्रहरी लागिपरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भावेश रिमालले जानकारी दिनुभएको छ ।

Please follow and like us:

Comments