काठमाडौं । १४ वर्षीया बालिका ‘थाहै नपाई’ गर्भवती भएकी छन्। पेटको तल्लो भागमा पीडा भएको बताएपछि आमाले उनलाई डाक्टरकहाँ पुर्‍याएकी थिइन्। भिडियो एक्सरे गर्दा गर्भ बसेको देखिएपछि उनको परिवार चिन्तामा परेको छ।

मजदुरीमा जाने गरेकी आमाले छोरी बलात्कृत भइरहेको ढिलो मात्र थाहा पाएकी थिइन्। बालिकालाई थप स्वास्थ्य परीक्षणका लागि सप्तरी राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको थियो। गर्भ बसेको ३४ साता पुगेको चिकित्सकले बताएका छन्। ‘बालिकाले आफूसँग के भयो र परिणाम के हुन्छ भन्ने थाहा पाइनन्’, अस्पतालमा सञ्चालित ओसीएमसीकी फोकल पर्सन मनीषा सिंखडाले भनिन्, ‘गर्भवती भएको कुरा धेरै पछि मात्र थाहा भयो।’

हनुमाननगर कंकालिनी–४ स्थित ठूलीआमाको घरमा बसेका बेला सोही गाउँमा पाहुना गएका छिन्नमस्ता गाउँपालिका–६ कुपहीका २१ वर्षीय प्रदीपकुमार मण्डलले यौनसम्पर्क राखेको पीडितको भनाइ छ। उनका अनुसार पछि घरमा ठूला व्यक्ति नभएको मौका पारी ती युवा आउन थाले। उनले भाइबहिनीलाई चकलेट खान पैसा दिई बाहिर पठाएर बालिकासँग यौनसम्पर्क गर्दै आएका थिए।

मानसिक र शारीरिक स्वास्थ्यका दृष्टिले कम उमेरमा बच्चा जन्माउनु राम्रो होइन। ३४ सातामा गर्भपतन गराउन सकिँदैन। अनिच्छित गर्भ १२ साताको र जबर्जस्ती करणी वा हाडनाता करणी भएर गर्भ बसे १८ सातासम्म गर्भपतन गराउन कानुनले स्विीकृति दिएको छ। डा. विकासकुमार साहका अनुसार प्रजनन् क्षमताको उमेर नभएको यो चरणमा गर्भपतन गराउन जोखिमपूर्ण हुन्छ। उनले बालिकाको स्वास्थ्य परीक्षण गरेका थिए।

बालिकाले बच्चा जन्माए पनि वा गर्भपतन गराए पनि जोखिम रहेकाले बाबुआमा तनावमा छन्। बालिकाको तत्कालको स्वास्थ्य अवस्था सामान्य देखिए पनि कलिलो उमेरमा आमा बन्न लागेकाले खतरा उत्तिकै रहेको उपचारमा संलग्न डाक्टर बताउँछन्। समाचार अन्नपूर्ण पोस्ट्ले छापेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments