काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्सले तीन महिनाभित्र जापानको ओसाकामा उडान भर्ने भएको छ ।

जापान उडानका लागि सबै प्रक्रिया पूरा गरिसकेको निगमले जापान सिभिल एभिएसन ब्यूरो (जेक्याब) लाई दुई दिनभित्र आवश्यक कागजात बुझाउने जनाएको छ ।

कागजी प्रक्रियाका साथै आन्तरिक तयारी सकेपछि आउँदो जुलाई महिनादेखि ओसाका उडान औपचारिक रुपमा शुरु गरिने निगमका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी दिनुभयो । जापान एभिएसनबाट उडान अनुमति पाएपछि उडान तयारीका लागि ४५ दिन लाग्ने छ भने अनुमति आएपछि पनि थप ३० देखि ४५ दिन निगमलाई आन्तरिक तथा बजार व्यवस्थापनमा समय लाग्नेछ ।

सहायक प्रवक्ता कोइरालाका अनुसार उडान अनुमति पछएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट–ओसाका कान्साइ अन्तर्राष्ट्रिय विमानस्थलमा साताको तीन दिन सोमबार, शुक्रबार र बुधबार उडान गरिने योजना छ । निगमले गत माघ १९ गते जापान उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट विमान सञ्चालनको अनुमति प्रमाणपत्र (एओसी) पाएको थियो । निगमले यसअघि फागुन १५ भित्र जापान र चैतभित्र चीन उडान गर्ने योजना बनाए पनि ‘ग्राउण्डह्याण्डलिङ’लगायत समस्याका कारण उडान ढिलो भएको जनाएको हो ।

ओसाकासँगै जापानकै नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा पनि उडान भर्नका लागि प्रक्रिया अघि बढाइसकिएको छ । नारिता उडानका लागि करीब दुई साताअघि पत्राचार गरेको निगमले नारिता विमानस्थलका उच्च अधिकारीसँग द्विपक्षीय वार्तासमेत गरेको छ ।

निगमले नेपालीहरुको प्रमुख गन्तव्य बनिरहेको अष्ट्रेलियाको सिड्नी र मेलबर्नमा पनि सीधा उडान गर्ने योजना बनाएको छ । तर यसबारेमा औपचारिक प्रक्रिया भने शुरु भैनसकेको सहायक प्रवक्ता कोइरालाले बताउनुभयो ।

Comments

comments