काठमाडौं । नेत्रविक्रम चन्द समूहका गतिविधि माथि प्रतिवन्ध लगाएसँगै सरकार उक्त समूहप्रति कठोर बन्दै गएको छ ।

सरकारले फागुन २८ यता मात्रै चन्द समूहसँग आवद्ध ६४ जना नेता तथा कार्यकर्ता पक्राउ गरिसकेको छ । मंगलबार मात्रै प्रहरीले आठ जिल्लाबाट १२ जना पक्राउ गरेका छन् । पक्राउ पर्नेमा धेरैजसो जिल्लास्तरीय नेताहरु रहेका छन् । प्रहरीले मंगलबार चितवनबाट २ जना, अछामबाट ४ जना, नवलपरासीबाट १ जना, संखुवासभाबाट १ जना, मकवानपुरबाट १ जना, इलामबाट १ जना, सुनसरीबाट १ जना र कास्कीबाट १ जनालाई पक्राउ गरेको छ ।

मंगलबार दिउँसो इटहरीबाट विप्लवका सुनसरी जिल्ला सदस्य पक्राउ परेका छन्। प्रहरीका अनुसार मोरङ मोतिपुर स्थायी घर भई इटहरी ५ तुलसा टोलमा बस्दै आएका सूर्य भनिने रमेश खड्का पक्राउ परेका हुन्। ४१ बर्से उनी इटहरी ४ बाट पक्राउ परेका प्रहरीले पुष्टि गरेको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका आधारमा खड्का पूर्वमाओवादी लडाकु हुन्। उनी सुनसरी जिल्ला सदस्य भए पनि मोरङ र धनकुटामा समेत उनले पार्टीको काम सक्रियतापूर्वक गर्दै आएको खुलेको छ। पक्राउ परेका खड्कालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानको जिम्मा लगाउने तयारी भएको छ। प्रहरीले बुधबार पत्रकार सम्मेलन गरेर धरान प्रहरीको जिम्मा लगाउने बताए पनि केन्द्रीय प्रहरी कार्यालयबाट अनुमति लिन बाँकी रहेको जानकारी दिएको छ।

उता गृह मन्त्रालयले पनि चन्द समूहका नेता कार्यकर्ता विरुद्ध कठोर बन्दै गएको संकेत देखाएको छ । गृह मन्त्रालयले पछिल्लो दश दिनमा मात्रै चन्द समूहप्रति लक्षित दुईवटा प्रेस बिज्ञप्ती जारी गरिसकेको छ । मन्त्रालयले चन्द समूहका केन्द्रिय नेताहरु समेत पक्राउ गर्नका लागि प्रहरीलाई कडा निर्देशन दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार संसदीय दलको बैठकमा बोल्दै चैत महिनाभित्रै चन्द समूहका धेरै नेता तथा कार्यकर्ता नियन्त्रणमा लिइने बताउनुभएको थियो । उहाँले चैत महिनाभित्र चन्दलाई पनि नियन्त्रणमा लिइने दाबी गर्नुभएको थियो । हरेक दिन आफ्ना नेता तथा कार्यकर्ता पक्राउ परेपछि अध्यक्ष चन्दमाथि दबाब परेको स्रोतको दाबी छ । तर चन्दले भने सरकारले धरपकड जारी राखे सशक्त प्रतिकार गर्ने चेतावनी दिदै आएका छन् ।

Comments

comments