काठमाडौं । गैर आवासीय नेपाली संघले यसै वर्ष नेपालमा १० अर्ब बढी लगानी गर्ने जनाएको छ ।

एनआरएनले नेपालका पूर्वाधार विकासमा सरकारसँग मिलेर १० अर्ब बढीका परियोजनामा यसै वर्ष लगानी गर्ने भएको हो । यसका लागि आसन्न लगानी सम्मेलनमा ‘एनआरएन इन्फ्रास्ट्रक्चर इन्भेष्मेन्ट कोष’ स्थापनासम्बन्धी सहमतिपत्रमा हस्ताक्षर हुने संघका उपाध्यक्ष तथा गैरआवासीय नेपाली संघ लगानी तथा बाणिज्य प्रवर्द्धन कार्यदलका अध्यक्ष कुमार पन्तले जानकारी दिनुभयो । नेपाल सरकार समेतको लागानीमा स्थापना हुने यो कोषको अधिकृत पुँजी २० अर्ब र चालु पुँजी १० अर्ब रहने बताइएको छ ।

गैरआवासीय नेपालीको लगानी विभिन्न आयोजनामा छरिएर आउँदा ठूलो परिणाम नदेखिएकाले कम्पनी खडा गरेर एकमुष्ठ रुपमा लगाउन खोजिएको पन्तले बताउनुभयो । सम्झौतापत्र तयार भइसकेको र लगानी सम्मेलनका क्रममा एनआरएन अध्यक्ष भवन भट्ट तथा नेपाल सरकारका प्रतिनिधिले हस्ताक्षर गर्ने संघले जनाएको छ ।

गैर आवासीय नेपालीको लगानी सुनिश्चित र सुरक्षित गर्न नेपाल राष्ट्र वैंक, कम्पनी रजिष्टार कार्यालय र सुरक्षा बोर्डले सबै आवश्यक प्रबन्ध मिलाउने प्रस्तावित सम्झौतापत्रमा उल्लेख छ । गैरआवासीय नेपाल्ी संघले पहिलो चरणमा एक वर्षभित्र १० अर्ब रुपैयाँ नेपालमा लगानी ल्याउने सम्झौतापत्रमै उल्लेख हुनेछ । कोषको ८५ प्रतिशत पुँजी गैर आवासीय नेपालीहरुलाई शेयर वितरण गरी संकलन गरिनेछ ।

नेपाल बाहिर रहेका गैरआवासीय नेपालीलाई शेयर होल्डर बनाउने गरि इन्भेस्टमेन्ट कोष गठन हुने एनआरएनएका पूर्वअध्यक्ष जीवा लामिछानेले बताउनुभयो । कोषमा नेपाल सरकारको पनि सामान्य हिस्सा रहनेछ ।

कम्पनी खडा भएको १ वर्ष्भित्र १० अर्ब नेपालमा भित्र्याउने र सो रकम अहिले बनिरहेका परियोजना, एनआरएन आफैंले पहिचान गर्ने नयाँ परियोजना वा साझेदारीमा पनि लगानी गर्न सकिने गरी काम भइरहेको उपाध्यक्ष पन्तले बताउनुभयो ।

Comments

comments