काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको आयुक्त पदमा रहेर ७८ लाख रुपैयाँ घूस लिने राजनारायण पाठकविरुद्ध आज अख्तियारले नै भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

भ्रष्टाचार निवारण गर्ने संवैधानिक निकाय अख्तियारले नै विशेष अदालतमा बुझाइएको अभियोगपत्रमा घूस लिने तत्कालीन आयुक्त पाठक र दिने नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष लम्बोदर न्यौपानेलाई प्रतिवादी बनाइएको छ ।

पाठकले घूस लिएको समाचार २०७५ फागुन १ गते विभिन्न सञ्चारमाध्यमले घूस लिएको स्वीकारेको भिडियो फागुन ३ मा सार्वजनिक भएको थियो । सोही दिन उहाँले पदबाट राजिनामा दिनुभएको थियो । अख्तियारले ३ थान डिभिडी, २ थान पेन ड्राइभमा भिडियो तथा अडियो राखेर अदालतमा बुझाएको छ ।

कलेजका अध्यक्ष न्यौपाने अख्तियारको बयानकै क्रममा भाग्नुभएका उहाँ हाल फरार हुनुहन्छ । यो घूस प्रकरणमा जोडिएका राष्ट्रिय जनता पार्टीका केन्द्रीय सदस्य ज्ञानेन्द्र झालाई मुद्दामा सरकारी साक्षीको रूपमा पेश गरिएको छ । मुद्दा दर्तासँगै अब आरोपीविरुद्ध अदालतले म्याद जारी गर्नेछ ।

Comments

comments