काठमाडौं । आइतवारदेखि शुरु भएको यस वर्षको एसइइ परीक्षामा सहभागी ४ लाख ७५ हजार तीन परीक्षार्थीमध्ये लोकप्रिय अभिनेत्री करिश्मा मानन्धर पनि एक छिन् ।

कक्षा ८ देखि विशेष स्कूलमा भर्ना भई नियमित अध्ययन गर्दै आएकी करिश्माले यस पटक एसइइ परीक्षा दिन लागेकी हुन् । पढाइप्रतिको उनको यो मोह र समर्पण धैरैकालागि प्रेरणाको विषय बन्दै आएको छ ।

२०४४ सालमा सन्तान चलचित्रबाट सुरु भएको करिश्माको अभिनय यात्राले अझै पनि ‘करिश्मा’ देखाइरहेको छ । चलचित्रमा प्रवेश गर्दा उनी १५ वर्षकी थिइन्, पर्दाको रमझममा ३१ वर्ष बित्यो उनको।

४६ वर्षकी करिश्मा केही समय चलचित्र क्षेत्रबाट पर रहे पनि पुनः जोडिइएकी हुन् । सानै उमेरमा चलचित्र क्षेत्रमा लागेर उनले नेम र फेम त पाइन् तर उनको पढाइ भने छुट्यो । चलचित्रमा व्यस्त भैरहँदा करिश्मालाई पढाइ छुटेकोमा खासै पछुतो नै लाग्ने अवस्था बनेन । किनभने उनी सधैं दर्शक,चलचित्रकर्मी र समीक्षकहरुका वाहवाहीमै रमाइन् । तर समयसँगै पढाइको महत्व बढ्दै जाँदा भने करिश्माले पढाइलाई मिस गर्दै गइन् । त्यसमाथि जब उनी डा बाबुराम भट्टराईको संयोजकत्वमा रहेको राष्टिय जनशक्ति पार्टीकी सदस्य बनिन् तब करिश्माले बल्ल प्रष्ट बुझिन् जीवनमा पढाइको महत्व ।

त्यसैले अहिले उनी अभियन भन्दा आफूले सानैमा छुटाएको खुशी समेट्ने अभियानमा छिन् । उनको त्यो खुशीले अब आकार लिने बेला भएको छ ।

करिश्माको खुशी स्कूल हो । उमेरले ४० नाघेर ५० को हाराहारीमा पुग्ने बेला स्कूले पोशाकमा विद्यालय धाइरहेकी करिश्मालाई कहिले लाज लाग्यो, कहिले सकस पनि ।

तर उनले टुटेर फेरि जोडिएको स्कूल यात्रा यो पटक छोडिनन् । यसकै परिणाम, आइतबारदेखि सुरु भएको माध्यामिक शिक्षा परीक्षा एसइइ दिने देशभरका चार लाख ७५ हजार विद्यार्थी मध्ये करिश्मा मानन्धर एक हुन् ।

करिश्माले आइतबारदेखि एसइइको खुड्किलो पार गर्ने परीक्षामा खुशीले स्वागत गर्दै छिन् । उनलाई यो परीक्षासँग डर भन्दा आफ्नोपन बेसी छ । सपनाहरुले बुनेका धेरै रहरहरुको साँचो यहि परीक्षामा छ जस्तो लागेको छ ।

करिश्माले केह िवर्ष यता पढाइलाई नै महत्व दिदै आइन् । अहिले पनि उस्तै मेहनत गरेकी छन् ।

करिश्माले डिल्लीबजारको विजय स्मारिका स्कूलमा परेको केन्द्रबाट परीक्षा दिँदै छिन् । नेपाली रजतपटकी सर्वाधिक लोकप्रिय यी नायिकाको यो पढाइ मोह र समर्पणले उमेरले स्कूलको बाटो कहिल्यै नछेक्ने सन्देश प्रवाह भएको छ । करिश्मालाई शुभकामना ।

Comments

comments