काठमाडौँ । नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटि सदस्य हेमन्तप्रकाश ओलीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको टोलीले नेता हेमन्तलाई शुक्रबार राति काभ्रेबाट पक्राउ गरेको हो ।

हेमन्तसहित पक्राउ पर्नेमा धर्मराज राजवहाक, रामकृष्ण खतिवडा, शंकर अधिकारी, विवेक श्रेष्ठ, ललित तामाङ, सञ्जीव कार्की, प्रेम घिमिरे र लोकेन्द्र खड्का रहेका छन् । नख्खुमा भएको बम काण्डको जिम्मा हेमन्तले विज्ञप्ती निकालेर लिएका थिए । त्यसपछि प्रहरीले निगरानी बढाएको थियो । उनीहरुलाई प्रहरीले टोलीले काफल डाँडाबाट पक्राउ गरेको हो ।

केही दिनअघि काभ्रेको काफल डाँडामा प्रहरी र नेकपाका कार्यकर्ताबिच फायरिङ्ग भएको थियो । त्यस क्रममा प्रहरीले नेकपाका चार कार्यकर्तालाई पक्राउ गरेको थियो ।

काठमाडौँबाट गएको अपराध महाशाखाको टोलीले त्यो बेला हेमन्तलाई पक्राउ गर्न असफल भएको थियो । तर शुक्रबार राति उनी पक्राउ परेको जनाइएको छ । सरकारले विप्लव नेतृत्वको नेकपाका गतिविधिमा प्रतिबन्ध लगाएसँगै धरपकड तीव्र बनाएको छ ।

Comments