मेलबर्न । रंगहरुको पर्व फागु पूर्णिमा होली नेपालमा धुमधामका साथ मनाइएको छ । विदेशमा बस्ने नेपालीहरुले होलीकै दिनमा मनाउन नपाएतापनि अनुकुल दिन पारेर होली कार्यक्रमहरुको आयोजना गरिरहेका छन् ।

मधेसी कम्युनिटी इन भिक्टोरीयाले केही वर्ष देखि निरन्तर रुपमा होली महोत्सवको आयोजना गर्दै आएको छ । जसअनुरुप यो वर्ष पनि होली महोत्सवको भव्य तयारि भइरहेको छ । 

कम्युनिटीले यही मार्च २३ तारिखमा होली महोत्सव २०१९ गर्ने भएको छ । महोत्सव कोबर्ग लेकमा विहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म हुने आयोजकले बताएका छन् ।

औपचारिक र अनौपचारिक दुवै किसिमले मनाउन लागिएको यस कार्यक्रमा फेडेरल एमपी पिटल खलील, नेपाल कन्सुलर जनरल चन्द्र योन्जन लगायतका अन्य विभिन्न व्यक्ति विशेषहरुको सहभागिता हुनेछ । होली महोत्सव २०१९ मा डिजेसँगसँगै, होलीकाे प्रसाद तथा बार्बिक्यू समेत रहनेछ ।

आयोजकका अनुसार, यस वर्ष होली “राष्ट्रियता र धर्मसहित आपसी मित्रता, सद्भाव र सद्भावनाको उत्सव”को नारा सहित सबै समुदाय, जातजाती, धर्मलाई समेटेर एउटै थलोमा मनाइने छ । यसवर्षको होली उत्सवको संयोजकको रुपमा एमसिभिको उपाध्यक्ष गोपाल शाह रहेका छन् ।

मधेसी कम्युनिटी इन भिक्टोरीयाका अध्यक्ष डा सुरेन्द्र रौनियारले होली महोत्सवको तयारिमा जुटिरहेका कम्युनिटीका सम्पूर्ण सदस्यलाई धन्यवाद दिंदै कार्यक्रममा सहभागी भइदिन सबैलाई आग्रह गरेका छन्।

Comments

comments