एजेन्सी । मोजाम्बिकमा सुमद्री चक्रबात इडाइका कारण जनधनको ठूलो क्षति भएको छ । चक्रबात इडाइका कारण ज्यान गुमाउनेको संख्या एक हजारसम्म पुग्न सक्ने मोजाम्बिकका राष्ट्रपति फिलिपे निउसीले बताएका छन् ।

चक्रबातका कारण बिहीबार तटीय शहर बेइरामा ल्याण्डफल भएको थियो । चक्रबातको गति १७७ किलोमिटर प्रति घण्टा थियो । तर उद्धार तथा राहतकर्मी आइतबार मात्रै त्यो क्षेत्रमा पुग्न सकेका थिए ।

अहिलेसम्म इडाइ चक्रबात र त्यसका कारण आएको बाढि तथा तीव्र गतिको हुरीका कारण ८४ जनाको ज्यान गएको पुष्टि भएको छ । चक्रबातले अधिकांश घर भत्काएकाले ज्यान गुमाउनेको संख्या धेरै हुन सक्ने बताइएको छ ।

यो आँधीका कारण अफ्रिकाको दिक्षणी क्षेत्रमा कम्तिमा १८० जनाको ज्यान गएको छ । बेइरा क्षेत्रको भ्रमण गरेका राष्ट्रपतिले क्षति भयानक रहेको र आफूले बाढीको पानीमा शव तैरिएको देखेको बताए ।

जिम्बाबेमा आँधीका कारण ९८ जनाको ज्यान गएको छ र २१७ जना बेपत्ता रहेका छन् । मालावीमा पनि गम्भीर क्षति भएको छ ।

Comments

comments