काठमाडौं । दुईदिन अघि मात्र प्रतिवन्ध लगाएको नेत्रविक्रम चन्द समूहका नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ ।

विप्लव पार्टीका पोलिटब्यूरो सदस्य मोहन कार्की जीवन्तलाई प्रहरीले गिरफ्तार गरेको छ । कार्कीलाई शुक्रबार साँझ ललितपुरबाट पक्राउ गरिएको पारिवारिक श्रोतले जनाएको छ । उनलाई सादा पोसाकका प्रहरीले बेलुकी ८ बजेतिर गिरफ्तार गरेको जनाइएको छ ।

सरकारले विप्लव नेतृत्वको पार्टीमाथि दुईदिन अघि मात्र प्रतिबन्ध लगाएको थियो । सरकारी प्रतिबन्ध लागेपछि पक्राउ पर्ने उनी पहिलो नेता हुन् ।

उता विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता उदयपुरमा पक्राउ परेका छन् । उदयपुरका जिल्ला सदस्य तिलक तामाङ (आक्रोश) त्रियुगा नगरपालिका ७ चिसापानीबाट पक्राउ परेका हुन् ।

विप्लव समूहको गतिविधिलाई प्रतिबन्ध लगाएपछि पक्राउ परेका उनलाई विप्लवसमूहले आह्वान गरेको नेपाल बन्दकी दिन राति ८ बजे पक्राउ गरिएको प्रहरीले पुष्टि गरेको छ ।

यस्तै नेकपाले सेक्रेटरी प्रशान्तले एक विज्ञप्ती जारी गर्दै राजनीतिक प्रतिशोध राखेर सुराकी गरेर आफ्ना पार्टीको जिल्ला सदस्यलाई पक्राउ गरेको प्रतिक्रिया दिएका छन् ।

Comments

comments