काठमाडौं । नेत्रविक्रम चन्द विप्लव समूहका गतिविधिमाथि प्रतिबन्ध लगाउने सरकारी निर्णयप्रति नेकपाभित्र तीव्र अन्तुष्टि देखिएको छ ।

पार्टीमा कुनै सल्लाह र छलफल नै नगरी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले एकलौटी ढंगले निर्णय गरेकाले त्यसको जिम्मेवारी पनि उहाँले नै लिनुपर्ने नेताहरुले बताएका छन् । पार्टीभित्र स्वेच्छाचारिता मौलाएको भन्दै नेकपाका नेताहरुले चिन्तासमेत व्यक्त गरेका छन् । विलप्व समूहलाई वार्ता र छलफलको माध्यमबाट मूल प्रवाहमा ल्याउनुको साटो सरकार दमन र उत्तेजित पार्ने काममा लागेको आरोप नेकपा नेताहरुले नै लगाएका हुन् । बुधबार संसद भवनबाट बाहिरिने क्रममा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले विप्लव समूहलाई प्रतिबन्ध लगाउनेबारे पार्टीमा कुनै छलफल नभएको बताउनुभयो । वरिष्ठ नेता नेपालले हतारोमा निर्णय गर्ने सरकारको शैली फेर्नुपर्ने बताउनुभयो ।

स्थायी समिति सदस्य अग्नि सापकोटाले विप्लव समूहलाई राजनीतिक व्यवहार गर्नुपर्नेमा सरकारले गलत बाटो अपनाएको जिकिर गर्नुभयो । उहाँले वार्ता तथा छलफलबाट समाधान खोज्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

तर, नेकपाका अर्का वरिष्ठ नेता झलनाथ खनालले भने विप्लवका गतिविधिमाथि प्रतिबन्ध लगाउनु जायज भएको दाबी गर्नुभयो । वरिष्ठ नेता खनालले छलफलमा आउन नचाहेकाले सरकार कडामा रुपमा प्रस्तुत हुनु स्वभाविक भएको बताउनुभयो । उहाँले पार्टी पूर्ण रुपमा एकीकरण भइनसकेकाले छलफल नभएको हुनसक्ने बताउदै अब यसबारेमा पार्टीमा पनि कुरा उठ्ने विश्वास व्यक्त गर्नुभयो ।

Comments

comments