काठमाडौं । इथियोपियामा आइतबार भएको विमान दुर्घटनामा ज्यान गुमाएका १५७ जना मध्ये एकजना नेपाली रहेको पुष्टि भएको छ।

इथियोपियाको राजधानी एडिस अब्बासबाट केन्याको राजधानी नैरोबीका लागि उडेको बोइङ ७३७ मा सवार सबै यात्रु र चालक दलका सदस्यको ज्यान गएको हो ।

विमानमा ३५ देशका नागरिक सवार थिए । त्यसमध्ये एक नेपाली महिला एकता अधिकारीको ज्यान गएको हो । उनी इथियोपियाको राजधानी एडिस अब्बासमा रहेको विश्व खाद्य कार्यक्रम (ब्लुएफपी) मा कार्यरत थिइन् ।

उनी नैरोबीमा हुने डब्लुएफपीको एक बैठकका लागि जाँदै थिइन् । उनी सन् २०१८ को सेप्टेम्बरमा इथियोपिया गएकी हुन् । उनी नेपाल र पपुवा न्युगिनीसहित झण्डै चार वर्षदेखि डब्लुएफपीमा कार्यरत थिइन् ।

इथियोपियन एयरलाइन्सको विमान राजधानी एडिस अब्बासबाट उडेको केही समयमै दुर्घटनामा परेको थियो । विमानमा १४९ यात्रु र चालक दलका ८ सदस्य थिए ।

Comments

comments