-निरुपा प्रसुन

सौभाग्य हो कि दुर्भाग्य, म केही जान्दिनँ । साहित्यिक कार्यक्रममा एक वर्ष पहिले तिम्रो लोग्नेसँग भेट भएको थियो । त्यस दिन मैले ठानेँ, तीस–एकतीस वर्षको युवक, पक्कै पनि कसैको लोग्ने भइसकेको छैन होला । कविता लेखेर साहित्यमा नमेटिने नाम दर्ता गराइसकेको केटो, जसको प्रत्यक्ष अनुहार देख्नुभन्दा पहिले नै म उसको जबरजस्त फ्यान थिएँ । आकर्षक शरीर, माया गरुँगरुँ लाग्ने अनुहार ठ्याक्कै उसको कविता जस्तै सुन्दर लाग्यो । म त त्यो दिनको उसको पहिलो हेराइमै घायल भइसकेकी थिएँ । अब उपचार उसैबाट मात्र सम्भव थियो । जब त्यस दिन कार्यक्रम सकियो ।

“म तपाईंसँग फोटोे खिच्छु नि ।”

उसलाई नछोईकनै उभिएँ म । मेरो क्यामरा अरुले नै क्लिक गर्दियो । म दङ्ग परेँ । कुरा कहाँबाट सुरू गर्ने कुनै आपत्तिको विषय थिएन ।

“मलाई तपाईंको कविता असाध्यै मन पर्छ । दोहोर्याएर समेत पढेकी छु ।” त्यो बेला तिम्रो लोग्नेले मेरो कुरा सुनेर मख्ख पर्दै भनेको थियो, “ओ रियल्ली ? तपाईं पनि लेख्नुहुन्छ ?”

“म त लेख्दिनँ । लेख्न आउँदैन । तपाईंहरूले लेखेको पढ्न सौखिन छु ।”

मज्जाले हाँस्यो । आँखामा आँखा जुधाएर सोध्यो, “तपाईंको हबी ?”

“मेरो हबी भनेको, मलाई मन परेको सिर्जनाको सर्जकलाई भेट्नु हो ।”

“आज मनपर्ने कसलाई भेट्नुभयो त ?”

“तपाईंलाई । तपाईंको त्यो चर्चित कविता ‘आँसुको रगत’ पढेदेखि नै तपाईंलाई भेट्ने रहर उम्लिरहेको थियो । अझ तपाईं त यस्तो उमेरकै हुनुहोला भन्ने लागेको थिएन ।”

ऊ फेरि हाँस्यो ।

“साँच्चै हो र ? ” शंका व्यक्त गर्यो उसले । शंकालु त आइमाई पो हुन्छन् भन्थे ।

“हो नि । आज भगवान् भेटेझैं भएको छ मलाई ।”

“मान्छेलाई मान्छेकै रूपमा स्वीकार्नु राम्रो होला कि !”

हामी त्यस दिन छोटो कुराकानीपछि नै छुट्टियौं । तिम्रो लोग्नेलाई टाढा पुग्नु थियो । कार्यक्रम स्थलको जिल्लाभन्दा ठ्याक्कै जोडिएको अर्को जिल्लाको मान्छे थियो ऊ । म भने त्यहीँकी थिएँ । कुनै हतार थिएन । मेरो घर नजिकै थियो । तिम्रो लोग्नेले सबैसँग बिदा लिएर बाइक स्टार्ट गयो । मतिर हेर्दा पनि नहेरी गएको थियो ।

मलाई रिस उठिरहेको थियो । दुई दिनसम्म फोन गरिनँ । पछि एसएमएस गरेँ । त्यस दिन खिचेको फोटो उसले इमेल गरििदनु भनेको थियो । यता मेरो क्यामेरा बिग्रिएर सबै फोटो डिलिट भएका थिए ।

“सरी, क्यामरा बिग्रियो । फोटो पठाउन सकिनँ ।”

“नो प्रोब्लम, तिम्लाई कस्तो छ र? यतिखेर म तिमीलाई नै सम्झँदै थिएँ ,” तिम्रो लोग्नेको उत्तर आयो ।

उसको एसएमएसले म त दंगदास बनेँ । त्यो दसैंको बेला थियो । म दसैं मनाउन घर गएकी थिएँ । विगत १० वर्षदेखि काठमाडौंमै बस्दै आएकी छु । तिम्रो लोग्ने मोफसलमै बस्थ्यो । ऊ राम्रो कविता लेखेर देशभरि चर्चित बनेको थियो । तिम्रो लोग्ने लेक्चरर पनि रहेछ । होइन ?

म दसैं सकेर काठमाडौं आएँ । नियमित काममा लागें। शनिबार अथवा बिदाको दिनमा म साहित्यिक माहोलमा रम्थेँ । यसो गर्न मेरो मन र विवेकले अह्राउँथ्यो । एक दिन म गुरूकुलमा कविता सुन्न गएकी थिएँ । त्यो बेला उसलाई देखेर चिच्याएँ म त‘। वरिपरिका मान्छेहरू पनि ट्वाल्ल परेर हेर्याहेर्यै भएँ । तिम्रो लोग्ने पनि अलि अप्ठ्यारो मान्दै थियो क्यारे ।

“तपाईं कसरी काठमान्डू ?”

“म आजकाल यहीँ बस्छु ।”

“मलाई किन खबर गर्नु भएन त ?”

“यसै गरी यहीँ भेट हुन्छ भन्ने थाहा भएर ।”

दुवै मज्जाले हाँस्यौं । त्यो दिन त्यतिमै सीमित रहेन । उसले कोठा पुगेर फोन गर्यो । घर छोडेर एक्लै कोठामा बसेको पहिलो अनुभव भएको सुनाउँदै थियो । मलाई यही बेलादेखि उसको माया लाग्न थालेको थियो क्यारे ।

“एक्लै केटा मान्छे, खाना–बनाउन भाँडा माझ्न अल्छी लाग्दैन ?”

“लागेर के गर्नु त अब ?”

“म आइदिऊँ त ?”

“आउँछौ ? आऊ न त ।”

“तलब कति दिनुहुन्छ त ?”

“थाउजेन्ड किसेस ‘घन्टाको ।”

मलाई लाज लाग्यो । कोठामै आएर चुम्बन गरेको आभास भयो । एउटा मीठो नरम अनुभूति ।

“भो, त्यसो भए आउँदिनँ ।”

सुन्छौ ? तिम्रो लोग्ने त मभन्दा अगाडि निस्कियो । मलाई पो ऊ मन परेको थियो त‘, उल्टो ऊ नै पो मलाई हाँसो पनि लाग्यो । पत्यार पनि लागेन ।

“पत्याएनौ ? आइ एम रियल्ली इन लभ विथ यु बेबी ।”

“होइन होला,” शंका व्यक्त गरेँ मैले ।

“पहिलो पटक तिमीलाई देख्नेबित्तिकै, यति राम्री स्मार्ट केटी को होली भनेर तिमीमै मेरो सारा ध्यान थियो । मञ्चमा बसुन्जेल तिमीलाई नै हेरिरहेको थिएँ म । तिमीलाई नै सोच्दै थिएँ म‘।”

यो एसएमएस चाहिँ मैले दोहोर्याएर पढेकी थिएँ । छक्क परेँ । रमाइलो पनि लाग्यो । मैले पनि त्यो बेला मञ्चमा दश जनामध्ये उसैलाई हेरिरहेकी थिएँ । अझ मञ्चमै उसको अटोग्राफ लिन गएकी थिएँ । एक रात उसले फोन गर्दा २ घन्टा १५ मिनेट ८ सेकेन्ड भएको थियो । तिमी अनुमान पनि लगाउन सक्दिनौ, घन्टौंं के गफ ग¥यौं हामीले भनेर । भोलिपल्ट बिहान, तिम्रो लोग्नेको एसएमएस आँखा मिच्दै पढेँ ।

“हाइ, स्वीटहार्ट, आर यु अल राइट ?”

“म पहिले पो बिसन्चो थिएँ क्यारे तपाईंसँग कुरा गरेपछि बल्ल पो सन्चो भएँ ।”

सुन्यौ, अब कुरै कुरामै हामीबीच कुनै दूरी बाँकी थिएन । मैले पनि उसलाई प्रेम गरेको आभास दिइसकेकी थिएँ ।

ऊ भन्थ्यो, प्रेम भनेको मनसँग छुट्याएर गर्ने होइन । शरीर र मन सँगै हुन्छन् । मलाई पनि उसको कुरा हो जस्तै लाग्यो ।

आत्मिक र भौतिक भनेर बेकार मायालाई अलग्याइरहन्छु म पनि‘ । तिम्रो लोग्नेले भने जस्तै मन र शरीर एउटै त हो नि भन्ने पक्षमा गएँ म पनि । खै के हो ? तिम्रो लोग्नेले जे बोल्यो त्यही चित्त बुझ्छ । त्यही कुरा हो झैं लाग्छ । अरु सब झुट । आफ्नै मान्यता र सिद्धान्त पनि बेकामका ठहरिएका थिए तिम्रो लोग्नेका अगाडि ।

आधा रातमा ब्युँझिएर पनि उसैलाई सम्झन थालेकी थिएँ । तिम्रो लोग्ने मेरो धड्कनको नसा बनेको थियो ।

एकदिन ऊ घर गयो । मलाई काठमाडौं नै शून्य लागेर आयो । उसको रिक्ततामा पहिल्यै पढिसकेको उसको कविताको किताब झिकेर पल्टाउन थालें । थाहा छ तिमीलाई ? जब त्यो किताबको लेखकीय पढेँ नि १ म त छाँगाबाट खसेझैं भएँ । ऊ त तिम्रो लोग्ने भइसकेको रहेछ । अझ विवाहको साक्षी चार वर्षकी छोरीसमेत रहिछे । उफ् ! छट्पटी भो । असाध्यै रिस उठ्यो । तत्काल तिम्रो लोग्नेलाई फोन गरेँ ।

“तिम्ले किन भनेनौ यी सब कुराहरू ?”

“तिम्रो लोग्नेलाई तिमी भन्ने भइसकेकी थिएँ म”

“के कुरा?”

“तिम्रो त छोरीसमेत रहेछ ।”

कुनै आश्चर्य नमानी भन्यो उसले, “छे त छोरी, के तिम्लाई थाहा थिएन र ?”

“कहिल्यै सुनाउने कष्ट गर्यौ र ? नभनी कसरी थाहा हुनु नि !”

“अहिले कसरी थाहा पायौ ?”

“तिम्रो किताबमै रै’छ नि त ।”

“हो त । मैले मेरो किताबमै लेखेको कुरा तिम्लाई थाहै होला भनेर भन्न जरूरी ठानिनँ ।”

हुन पनि हो । तिम्रो लोग्नेको के दोष ? उसले त तिम्राबारे सार्वजनिक गरेकै रहेछ, मैले पढिनँ त के गर्नु?

त्यसपछि तिम्रो लोग्नेको माया मार्नुपर्ने हो मैले । तर त्यसो भएन । झन् झाँगियो हाम्रो अवैध प्रेम‘।

उसले मलाई तिमीलाई भन्दा बढी प्रेम गरेको ठान्थेँ म । तिम्रो लोग्नेले भन्थ्यो पनि बारम्बार, म पहिलो पुरूष होइन, घरमा स्वास्नी भएर पनि अर्कोसँग प्रेम गर्छ । हो त, म पनि पहिलो युवती थिइनँ, जो अरुको लोग्नेसँग प्रेम गर्दै छे । हामी भेट्थ्यौं । सार्वजनिक ठाउँमा तिम्रो लोग्नेको प्रतिष्ठाको सवाल उठ्थ्यो, त्यसैले निजी र साँघुरो ठाउँमा भेट्थ्यौं हामी । भेटभन्दा बढी फोनमा कुरा हुन्थ्यो । ऊ अफसोच व्यक्त गर्थ्यो, हाम्रो भेट ढिलो भयो भनेर । उसको कुरामा म मैनझैं पग्लिएकी थिएँ । हामीले एउटा उज्यालो सँगै स्वागत गरेका थियौं । त्यसपछि झन् तिम्रो लोग्ने संसारको प्रिय प्रेमी बन्यो मेरा लागि ।

यो कुरा त तिमीलाई पनि थाहै छ । अचानक ऊ बिरामी भयो । तिम्रो लोग्नेको हेरविचारका लागि तिमी आएको दुई दिनपछि बल्ल मलाई आफू बिरामी भएको कुरा सुनाएको थियो ।

पहिलो पल्ट ब्रह्मज्ञान भो मलाई, ऊ त केवल तिम्रो लोग्ने हो भन्ने कुराको । बिरामी भएर त्यति टाढाबाट तिमी आयौ, म उसको छेउमै बसेर पनि मलाई थाहासम्म दिएन । कस्तो सम्बन्ध हो यो रु मैले पनि उसलाई तिमीले झैं हस्पिटल लैजान सक्थेँ । जाउलो पकाएर खुवाउन सक्थेँ । किन तिमीलाई नै बोलाउन जरूरी भयो ? ननिको लागेको थियो मलाई । उसलाई देखाएरसमेत माया गर्न सक्दिनथेँ म । उसलाई सन्चो भइसकेको थिएन । तिमी पनि घर फर्किसकेकी थिइनौ । डाक्टरकोमा आउँदा उसले मलाई भेट्यो । ऊ आउनुपर्ने डाक्टरको क्लिनिक र मेरो अफिस सँगसँगै थियो । उसलाई भेट्न पाएकामा म असाध्यै खुसी थिएँ । अलि दुब्लाएको रहेछ ऊ । मैले उसका लागि फलफूल र अरु खाने कुरा किनेकी थिएँ । त्यो किनिरहँदा मलाई अनौठो आनन्द लागेको थियो । यही आनन्द, यही खुसी अन्तिम रहेछ तिम्रो लोग्नेसँगको । तिमीसँग अकाट्य सम्बन्ध रहेछ उसको । त्यो तिमी स्वयं पनि जान्दिनौ होली‘, मैले किनेको केही सामान पनि लगेन । मलाई दोस्रो पल्ट असाध्यै नराम्रो लाग्यो । अर्काको लोग्नेलाई माया गर्नु निरर्थक लाग्यो । कस्तो प्यारसँग किनेकी थिएँ । फगत तिम्रो कारणले‘। तिम्ले शंका गछ्र्यौ भन्ने भयले ‘ । तिम्रो मन दुख्ला भन्ने कत्रो चिन्ता ? विचरा, मेरो दिलको हालत तिम्रो लोग्नेलाई के मतलब ?

सुन्छ्यौ ?

तिम्रो लोग्नेलाई प्रेम गर्दाको पनि सजाय भोगेँ मैले । कोठामा आएर धेरैबेर रोएँ । तिम्रो लोग्नेसँग भएका कुरा र बिताएका पल आँसुले नै धोइदिएँ । केही पछि नै मन हल्का भो । चैनसँग सास फेरेँ । हाम्रो सम्बन्ध कुनै गन्तव्यमा पुग्नु थिएन, न त एकअर्कालाई प्राप्त गर्नु थियो । बस्, हामी प्रेम गर्थ्यौं । प्रेम गर्थ्यौं भन्ने भ्रममा रहिछु म । अब त त्यो पनि बाँकी रहेन । अचम्म अचम्मको प्रेम मैमाथि हुनुपर्ने ? कहिले मान्छेको रुपरंग मन परेर त्यसैमा दिल खस्छ, कहिले लेखेको कुरा मन परेर त्यही लेखकसँग दिल बस्छ । त कहिले‘ !

साँच्चै त्यो बेला पनि तिम्रो लोग्नेसँग मेरो प्रेम बसेकै थियो ।

अब छैन ।

(निरुपाको ‘तिम्रो लोग्ने र म’ कथासंग्रहबाट साभार)

Comments

comments