काठमाडौं । नेपाली कांग्रेसले स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. सिके राउतसँग सरकारले गरेको सहमतिको स्वागत गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रवार ट्वीट गर्दै सिके राउतको रुपान्तरण र सम्झौता स्वागतयोग्य भएको बताउनुभएको हो । नेपालको अखण्डताको जगमा आन्तरिक विमतिहरुको शान्तिपूर्ण हल खोज्ने राष्ट्रिय प्रयत्न जायज रहेको पनि शर्माले बताउनुभएको छ । शर्माले अहिंसा, सद्भाव र सहकार्यबाटै देशलाई अगाडि बढाउनु जरुरी रहेको उल्लेख गर्नुभएको छ । शर्माले सहमतिमा प्रयोग भएका केही शब्दलाई भने प्रष्ट पार्न माग गर्नुभएको छ ।

सामाजिक सञ्जालामा स्वतन्त्र मधेसबारे सरकार जनमत संग्रह गर्न तयार रहेको चर्चा भइहेका बेला शर्माले सहमतिको चौथो बुँदालाई मुर्त ब्याख्या दिन आग्रह गर्नुभएको हो । शर्माले सम्झौतामा प्रयोग भएका ‘जन अभिमतमा आधारित लोकतान्त्रिक विधि’ र ‘स्वायत्तता र स्वशासनको अधिकार आत्मसात गर्न’ भन्ने शब्दलाई व्याख्या गर्न सुझाव दिनुभएको हो । शर्माले प्रधानमन्त्रीको नियतमा अहिले नै शंका भने गर्न नमिल्ने उल्लेख गर्नुभएको छ ।

Comments

comments