दार्चुला । दार्चुला–तिङ्कर सडकखण्डको राताकाठामा शुक्रबार बेलुका जिप दुर्घटना हुँदा ज्यान गुमाएका सबै ११ जनाको शव घटनास्थलबाट निकालिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ ।

राति साढे १२ बजेसम्ममा सबै ११ जनाको शव निकालेर जिल्ला अस्पताल दार्चुला ल्याइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका चालकलाई थप उपचारका लागि भारत पठाइएकाले उनको अवस्था थाहा हुन नसकेको प्रहरीले बतायो ।

जिल्ला सदरमुकाम खलंगाबाट हिकिलाका लागि छुटेको म १ ज २८० नम्बरको जिप दुहु गाउँपालिका–३ राताकाठामा भीरबाट खसेर शुक्रबार बेलुका दुर्घटना भएको हो । चालक दीपकसिंह धामी गम्भीर घाइते छन् । भीरबाट शव निकालिएका मध्ये सातजना महिला र तीन पुरुष रहेका छन् ।

जिप दुर्घटना भएको बाटो जोखिमपूर्ण रहेको भन्दै बन्द गरिएको बाटो थियो भने गाडी चलाउन प्रतिबन्ध थियो । तर गाउँको बाटोमा रातिमा सुरक्षाकर्मी नहुने भएकाले चोरी छली गरेर जिप यो बाटो गएको देखिएको प्रहरीको भनाइ छ । छिटो पुग्ने ध्यानमा जिप यो बाटो गएको हुनसक्ने प्रहरीको अनुमान छ।

जिप सडकबाट झण्ड पाँचसय मिटर तल खसेको थियो ।

Comments