ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा मन्दिर आसपासमा बुधबार मध्याह्न पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातजनाको ज्यान लिएको हेलिकोप्टर दुर्घटनाका विषयमा अनेकौं अड्कलबाजी हुन थालेका छन् ।

स्थानीयले बाटो बिराएका कारण हेलिकोप्टर दुर्घटनामा परेको अनुमान गरेका छन् भने केहीले क्षमताभन्दा बढी वजन बोकेकाले भार थेग्न नसकी हेलिकोप्टर एक्कासि भुइँमा झरेको बताएका छन् । बढी वजन, गलत बाटो र हावाहुरीका कारण करिब ३ हजार मिटर उचाइको तारेभीरमा जहाज ठोक्किएको अड्कल गर्नेहरु थुप्रै छन् ।

सामान्यतया माउन्टेन फ्लाइटमा जाने हेलिकोप्टरले पाँचजनाको भार थेग्न सक्छ । हिमालयन गाइड्स ट्रेक्स एन्ड एक्सपिडिसन प्रालिका प्रबन्ध निर्देशक ईश्वरी पौडेलका अनुसार चालकसहित नेपाली नागरिकको हकमा ६ जनासम्मको भार माउन्टेन फ्लाइटका लागि सामान्य हो । उनका भनाइमा दुर्घटनाको प्रकृति हेर्दा चालक प्रभाकर केसीले कुहिरो छल्न सिस्नेबाट फुरुम्बुको गढीडाँडातर्फको बाटो समातेको हुनुपर्छ । ‘मेरो विचारमा हावाले सही दिशा लिन नदिएर एकैचोटि तारेभीरतर्फ खसाल्यो’, पौडेलले भने, ‘कुहिरो छल्न सिस्नेको शिरबाट गढीडाँडा हुँदै सुकेटारतर्फको यात्रा सोचेका चालकलाई हावाको वेग र कुहिरो बाधक बने र हेलिकोप्टर मोडाउने क्रममा दुर्घटनामा पर्यो ।’

माथिल्लो फेदीका होटल व्यवसायी इन्द्रनारायण भट्टराईका अनुसार हेलिकोप्टरले पाथीभरा मन्दिरबाट सुकेटार वा राजधानी फर्कने यात्राका लागि जहिल्यै सीधै माथिल्लो फेदीको वल्लो छेउबाट विद्युत् तार टाँगेको क्षेत्र हुदै भालुगौंडेको माथिबाट एकैपटक सुकेटारतर्फ यात्रा तय गर्छ ।

बुधबार दुर्घटनामा परेको हेलिकोप्टरको उडान त्यसभन्दा विपरीत सिस्नेखोलाको शिरतर्फ गएको छ । ‘जुन बाटोबाट हेलिकोप्टर फर्कियो, त्यो गलत थियो । त्यसमा वजन पनि बढी भएको र हावाको वेगका का।ण हेलिकोप्टरलाई चालकले सही दिशामा मोडाउन खोज्दा सकेनन्’, भट्टराईले बताए । जहाज दुर्घटनालगत्तै दुर्घटनास्थल पुगेका स्थानीय घनश्याम पौडलले हेलिकोप्टरले लिएको गलत दिशा र त्यो क्षेत्रमा हावाको वेग दुर्घटनाका लागि प्रमुख कारण रहेको बताए ।

Pic:Symbol

Comments