काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटनामा परेको छ । दुर्घटनामा मन्त्री अधिकारीसहित हेलिकोप्टरमा सवार ६ जनाको निधन भएको छ ।

काठमाडौँबाट ताप्लेजुङ जाँदै गरेको एयर डाइनेस्टीको हेलिकप्टर आज दिउसो दुर्घटनामा परेको गृहमन्त्रालयले पुष्टि गरेको छ । बिहान ८ बजे पाथिभाराकालागि काठमाडौंबाट उडेको हेलिकोप्टर बिहान ११ बजे पाथिभाराबाट फर्कदै गर्दा दुर्घटनामा परेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

पर्यटनमन्त्री अधिकारीसहित ६ जना सवार एयर डाइनेस्टीको हेलिकप्टर ताप्लेजुङको पाथीभर मन्दिर नजिकै दाह्रीढुङ्गा भन्ने स्थानमा दुर्घटनामा परेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले पुष्टि गर्नुभएको छ । दुर्घटना परेको हेलिकप्टरमा पर्यटन मन्त्री अधिकारी, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, प्रधानमन्त्रीका सरकारी स्वकीय सचिव युवराज दाहाल,मन्त्रीका अंगरक्षक अर्जुन गुरुङ र हेलिकोप्टरका क्याप्टेन प्रभाकर केसी सहित ६ जना सवार रहेको बताइएको छ । उद्दारकालागि प्रमुख जिल्ला अधिकारी भण्डारीसहित नेपाली सेना र प्रहरीको टोली घटनास्थल पुगिसकेका छन् । घटनास्थलमा एकजनाको शव डढेको अवस्थामा भेटिएको प्रत्यक्षदर्शीले बताएका छन् । खराब मौसमका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । यसैबीच मन्त्रिपरिषदको आकस्मिक वैठक अहिले बालुवाटारमा बसिरहेको छ ।

Comments

comments