हरियोडाँडा माथि हलो जोत्ने साथी लगायतका थुप्रै कालजयी गीतहरुका गायक तथा गीतकार जनकवि केशरी धर्मराज थापाको निधन भएको छ। राजधानीमा उपचार गराइरहेका थापाको आज बिहान निधन भएको हो। ९२ वर्षको उमेरमा राजधानीको स्वयम्भुस्थित निवासमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

पोखराको बाटुलेचौरमा विक्रम सम्वत १९८१ साल साउनमा जन्मनुभएका थापाले प्रजातन्त्रको मिर्मिरे(२००७) मा प्रजातन्त्रको काफल, पाक्यो बरी लै, हरियोडाँडा माथि हलो जोत्ने साथी, हाम्रो तेन्जिङ शेर्पाले, चढ्यो हिमाल चुचुरा, आज मादल बजेको किन ?, गाउँबेसी दुनियाँ बिउँझाउन, धुरुधुरु नरोऊ आमा, तिम्रो आँसु पुछेर छाडौंला, घर सम्झी रोएको होला, डाँडाकाटी गएको नेपाली, जस्ता गीत गाउँदै तत्कालीन समाजका नेपालीलाई जागरुक बनाउनुभएको थियो ।

उहाँले २०१३ सालमा राजा महेन्द्रबाट जनकवि केसरीको उपाधि पाउनुभएको थियो ।

नेपाली लोकगीत, लोक संस्कृति र लोकजीवनको अध्ययन र प्रचार प्रसारमा जीवन विताएका थापाले गन्र्धव र सारङ्गीलाई संसारसामु चिनाउनुभएको  थियो ।

थापाका १ सय भन्दा बढि गीत रेकर्ड भएका छन् भने थापाका गीत, कविता, लेख, साहित्य, संस्कृति, यात्रा संस्मरण लगायत २९ वटा कृति प्रकाशित छन्। उहाँले मदन पुरष्कार र जगदम्बा श्री पुरष्कार पनि जितिसक्नुभएको छ । उहाँका छोरा वीर अस्पतालका निर्देशक हुनुहुन्छ भने छोरी ज्ञानु राणा स्थापित गायिका हुनुहुन्छ ।

Comments