काठमाडौं । लगातारको वर्षाले देशका हिमाली र पहाडी क्षेत्रहरुमा हिमपात हुँदा कतै सास्ती त कतै मस्ती भएको छ ।

शनिवार राजधानी काठमाडौँ उपत्यका वरिपरिका पहाडमा हिमपात भएको छ ।

पश्चिमी वायुको प्रभावले विगत तीन दिनदेखि काठमाडौँ उपत्यकासहित देशभर बदली र वर्षा भएको छ । उक्त वर्षाले काठमाडौँ नजिकका पहाडमा हिमपात गराएको हो । उपत्यकाका पहाड नगरकोट, जर्सिङपौवा, शिवपुरी, तारेभीर, चन्द्रागिरि चम्पादेवी, फुलचोकीलगायत क्षेत्रमा हिउँ परेको छ । हिउँपरेपछि ती क्षेत्रहरुमा हिउँ हेर्न र हिउँसँग खेल्न जानेहरुको संख्या बढेको छ ।

शुक्रबार रातिदेखि शुरु भएको हिमपातका कारण कर्णालीका चार वटै विमानस्थल बन्द भएका छन् ।

पहिले तीनपटक परेको हिउँ बिलाउन नपाउँदै फेरि हिउँ थपिएपछि विमानस्थल बन्द भएका हुन् । हुम्लाको हिल्सा, मुगुको ताल्चा, जुम्लाको खलङ्गा विमानस्थलको धावनमार्गमै बाक्लो हिउँ जमेका कारण आज नेपालगञ्जदेखि कुनै पनि उडान हुन सकेको छैन । लगातारको हिमपातका कारण धावनमार्गमै बाक्लो हिउँ जमेको छ । विमानस्थल अवरुद्ध भएपछि आन्तरिक उडान ठप्प भएका छन् । हिउँ जमेका कारण जुफाल विमानस्थल पनि अवरुद्ध छ । विमानस्थलको धावनमार्गमा दुई फिट हिउँ जमेपछि एकसातासम्म हवाई उडान ठप्प हुनसक्ने अनुमान गरिएको नागरिक उड्डयन प्राधिकरण जुफाल शाखाले जनाएको छ । हिमपातका कारण दुई दिनदेखि नेपालगञ्जबाट पनि कुनै उडान हुनसकेको छैन । जुफाल विमानस्थल अवरुद्ध भएपछि यात्रुहरु विमानस्थलमै अलपत्र परेका छन् भने दैनिक उपभोग्य सामग्री ढुवानी गर्नसमेत समस्या भएको छ ।

लगातारको हिमपातका कारण कर्णालीका विमानस्थल अवरुद्ध भएको र जिल्ला बाहिर आवतजावत गर्ने आन्तरिक बाटाघाटासमेत बन्द भएकाले कर्णाली मौसमी नाकाबन्दीजस्तै भएको छ । हिमपातका कारण सञ्चारका साधन अवरुद्ध हुँदा उपल्लो डोल्पाका धेरै मानवबस्ती सम्पर्कविहीन बनेका छन् । जिल्लाका धो, साल्दाङ, भिजेर, छाका, मुकोट, फोक्सुन्डोलगायत बस्ती सदरमुकामबाट सम्पर्कविहीन भएका छन् । सदरमुकाम दुनै, जुफाल, त्रिपुराकोटमा दुई फिटसम्म हिउँ जमेको र हिमपात अझै जारी रहेको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिनुभयो ।

Comments

comments