एजेन्सी । म्यानचेस्टर युनाइटेडका पूर्व मिडफिल्डर तथा यो जनवरी विण्डोमा जर्मन क्लब बोरुसिया डर्टमुण्डबाट टर्किस क्लब बेसिक्टास लोनमा गएका शिन्जी कागवाले क्लबको डेब्यू खेलको १८ सेकेण्डमै गोल गरेका छन् ।

शिन्जीले सोमबार बेसिक्टासबाट पहिलो खेल खेलेका हुन् । उनी खेल सुरु हुँदा बेन्चमा थिए । पछि उनी मैदान छिरे र त्यसको १८ सेकेण्डमै गोल गरे । उनी त्यतिमै रोकिएनन् ।

पहिलो गोल गरेको दुई मिनेटपछि व्यक्तिगत दोस्रो गोल गरे । टर्किस सुपर लिग अन्तर्गतको खेलमा बेसिक्टासले एन्टाल्यास्पोरलाई ६–२ ले हरायो । २९ वर्षका शिन्जी ८१ औँ मिनेटमा क्लब ४–१ ले अघि रहेको अवस्थामा मैदान छिरेका थिए ।

उनले मैदान छिरेको १८ सेकेण्डमै गोल गरे र दोस्रो गोल फ्रि–किक मार्फत गरे ।

जापानका शिन्जी सन् २०१२ मा बोरुसिया डर्टमुण्डलाई बुण्डेस लिगा र जर्मन कपको उपाधि दिलाएपछि म्यानचेस्टर युनाइटेडमा अनुबन्धित भए । दुई वर्षपछि अर्थात सन् २०१४ मा उनी फेरि बोरुसिया डर्टमुण्ड नै फर्किए ।

Comments