एजेन्सी । स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा लिग लिडर बार्सिलोना विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले लेगानेसलाई ३–१ ले हराएको हो ।

बार्सिलोनाको जितमा उसमान डेम्बेले, लुइस स्वारेज र लियोनल मेस्सीले गोल गरे । लेगानेसका लागि ब्राइथवेटले एक गोल फर्काए । मेस्सीलाई बेन्चमा राखेर सुरु भएको खेलमा पहिलो हाफमा बार्सिलोनाले १–० को अग्रता लियो ।

उसका लागि ३२ औँ मिनेटमा डेम्बेलेले गोल गरे । ५७ औँ मिनेटमा ब्राइथवेटले लेगानेसका लागि बराबरी गोल फर्काए । ७१ औँ मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई फेरि अग्रता दिलाए ।

इन्जुरी समयको दोस्रो मिनेटमा मेस्सीले गोल गरेपछि बार्सिलोनाले ३–१ को जित निकालेको हो । सबै प्रतियोगितामा गरेर पछिल्ला सात खेलमा अपराजित रहेको बार्सिलोना २० खेलबाट ४६ अंकसहित ला लिगाको शीर्ष स्थानमा छ । दोस्रो स्थानको एथ्लेटिको मड्रिडको ४१ अंक छ ।

ला लिगा अन्तर्गत आइतबार राति नै भएका खेलमा रियल बेटिसले जिरोनालाई ३–२ तथा लेभान्टेले रियल भालाडोलिडलाई २–० ले हरायो । यस्तै भिल्लारियल र एथ्लेटिको बिल्बाओले १–१ तथा रायो भालेकानो र रियल सोसिडाडले २–२ को बराबरी खेलेका छन् ।

Comments

comments