काठमाडौँ । पवित्र नदी एवं त्रिवेणीमा स्नान, जप, तप, ध्यान र दान गरी घ्यू, चाकु, तरुल एवं खिचडी खाई माघे (मकर) सङ्क्रान्ति पर्व आज देशभर मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण शुरु हुने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भनिन्छ । माघ १ गतेबाटै उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् ।

उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ । यी स्थानमा आजका दिन भव्य मेलासमेत लाग्ने गर्छ ।

सूर्य दक्षिणबाट उत्तर लाग्दाको दिनलाई वैदिक दर्शनका विभिन्न शास्त्रमा पवित्र दिन मानिएको छ । उत्तरायण शुरु भएपछि शुभ काम, यज्ञ यागादि गर्न शुभ मानिएको छ । उत्तरायण शुरु हुने दिन गुरु पुरोहितबाट तिलक लगाउने शास्त्रीय मान्यतासमेत छ ।

माघे सङ्क्रान्तिदेखि साउने सङ्क्रान्तिसम्म सूर्य उत्तरको बाटो हिँड्ने भएकाले यो छ महीनाको समयलाई उत्तरायण भनिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो । “सूर्य उत्तरायण भएका बेला गरिएको स्नान, दान, जप, तप, तीर्थ, व्रतलाई उत्तम मानिएको छ, यो समयमा भएको जन्म र मरण पनि उत्तम हुन्छ,” उहाँले भन्नुभयो ।

उत्तरायणका पनि माघ र वैशाख महीना उत्तम मानिएको धर्मशास्त्रविद् गौतमले बताउनुभयो । कर्म गर्नका लागि माघको शुक्ल पक्ष अझ बढी महत्वपूर्ण समय मानिएको समितिले जनाएको छ । तराईवासीले पनि माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन् ।

तिलले स्नान गर्नु, तिलको तेल घस्नु, पितृलाई तिलयुक्त जल दिनु, तिल हवन गर्नु, तिल दान गर्नु र तिल खानु गरी छ प्रकारले तिलको प्रयोग माघ महीनामा गर्नाले यो लोकमा सुख शान्ति पाई परलोकमा मोक्ष पाइने धार्मिक विश्वाससमेत छ । माघ शुक्ल पक्षमा तिललाई छ प्रकारले प्रयोग गर्ने षट्तिला एकादशी पर्वसमेत पर्दछ ।

आजका दिन बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । धर्मसिन्धुमा माघ १ मा घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख छ । स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनोकामना पूर्ण हुन्छ भन्ने शास्त्रीय मान्यता रहेको छ ।

माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास छ ।

तरुललाई पुस मसान्तका दिन उसिनेर माघ १ गते खाने परम्परा छ । यसलाई लोकोक्तिअनुसार ‘पुसमा पाके माघमा जाके’ भनिन्छ । सेल रोटीलगायत परिकार पनि पुस मसान्तमा बनाएर माघमा खाने प्रचलनमा देशका केही भागमा छ ।

आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थबाहिर निस्कन्छ भन्ने विश्वास छ । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिन्छ । सूर्य उत्तरायण भएपछिको मृत्युलाई उत्तम मानिन्छ । महाभारत युद्धमा मृत्यु श्ययामा पुगेका भीष्मले इच्छा मृत्युको वरदान पाएअनुसार सूर्य उत्तरायणपछि नै शरीर त्यागेको पौराणिक मान्यता छ । आजका दिन भक्तपुरको तिलमाधव नारायणस्थान लगायतका तीर्थस्थलमा पनि मेला लाग्ने गर्दछ ।

थारू समुदाय नाइके छान्दै

थारू समुदायका मानिसले माघ १ गतेलाई नयाँ वर्षका रूपमा धुमधामका साथ स्नान, दान एवम् खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदैछन् । सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारू समुदायको नयाँ वर्ष माघी पर्व पर्दछ । माघ १ गतदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ । पुसको अन्तिम दिन रातभर जाग्राम बसेर रमाइलो गरी माघीका दिन बिहानै नयाँ वर्षलाई स्वागत गर्ने परम्परा छ ।

आफूभन्दा ठूलासँग आशीर्वाद लिइन्छ भने सानालाई आशीर्वाद दिने गरिन्छ । बहिनी र छोरीलाई विशेष दान दिने संस्कृति थारू समुदायमा छ । माघ १ गते बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूलाबडा कहाँ गएर आशीर्वाद लिने परम्परा थारू समुदायको छ ।

बेलुका घरमा ठूला मुढा बालेर धुनी जगाउँछन् । धुनीको चारैतिर घरपरिवार र पाहुना बसेर खानपिन गर्छन् । यस दिनदेखि पाँच दिनसम्म उनीहरूले आफू स्वतन्त्र भएको अनुभव गर्छन् । यस अवसरमा सक्नेहरू चारधाम जाने र नसक्नेले नजीकको तीर्थमा गई गच्छेअनुसार दीनदुःखीलाई दान गर्ने चलन छ । कुनै कारणवश श्राद्ध कर्म रोकिएकाले आजैका दिन श्राद्ध गर्नुपर्छ भन्ने मान्यता पनि यस समुदायमा छ ।

तिलले स्नान गर्नु, तिलको तेल घस्नु, पितृलाई तिलयुक्त जल दिनु, तिल हवन गर्नु, तिल दान गर्नु र तिल खानु गरी जम्मा छ प्रकारले तिलको प्रयोग यस दिन जसले गर्छ त्यो असफल हुँदैन भन्ने विश्वास थारू समुदायमा पनि छ । तिलको तेल घस्नाले शरीरको तापक्रम बढ्न गई जाडो कम हुन्छ भन्ने वैज्ञानिक मतसमेत छ ।

गाउँका मुखिया, महतो, गुरुबा, पूजारी, धामी, झाँक्री, चौकीदार, कमैया, हली, गोठालो, घरायसी काम गर्ने आदि सबैले माघीका दिन आपसी सहमतिबाट एक वर्षका लागि नाइके छनोट गर्छन् । थारू जातिमा यस दिन गरिएको सहमति एक वर्षका लागि अकाट्य हुन्छ । बीचमा फेरबदल हुँदैन । यस प्रथालाई माघी देवानी भनिन्छ ।

विशेषगरी तराईका थारूले चामल र मासको दालबाट बनाइएको खिचडी खाने हुनाले यस चाडलाई तराई क्षेत्रमा खिचडी भन्ने चलन पनि छ । थारू समुदायका मानिसले माघीका दिन खानका लागि पुसकै दिन अनदी चामलको जाँड बनाएर राख्ने गर्छन् । विवाह, यात्रा, बसाइँसराइका लागि माघीका समयमा साइत हेर्न नपर्ने विश्वास पनि थारू समुदायमा छ ।

Comments

comments