एजेन्सी । टोटनह्याम इंग्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ ।

उपाधि होडमा आफूलाई बलियो दाबेदारको रुपमा प्रस्तुत गर्दै आएको टोटनह्याम म्यानचेष्टर सिटीलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएको छ ।

लिग अन्तर्गत मंगलबार राति भएको खेलमा माउरिसिओ पोकेटिनोको टिम टोटनह्यामले कार्डिफ सिटीमाथि ३–० को जित निकाल्दै दोस्रो स्थानमा फर्किन सफल भएको हो ।

अवे मैदानमा भएको खेलमा टोटनह्यामलाई जिताउन ह्यारी केन, क्रिष्टियन एरिक्सन र सन हेङ्ग–मिनले एक एक गोल गरेका हुन् । तीनै गोल पहिलो हाफमा नै भएको हो ।

तेस्रो मिनेटमा नै केनले गोल गर्दै टिमलाई सुरुवाति अग्रता दिलाए । १२ औँ मिनेटमा एरिक्सनले गोल गरेर अग्रता दोब्बर पारे । २६ औँ मिनेटमा सनले गोल गरेपछि पहिलो ३० मिनेट भन्दा कम समयकै खेलमा ३–० को अग्रता बनायो ।

दोस्रो हाफमा दुवै तर्फबाट गोलका लागि प्रयास भए पनि गोल हुन सकेन र टोटनह्याम ३–० ले विजयी भयो । जितपछि दोस्रो स्थानमा उक्लिएको टोटनह्यामको २१ खेलबाट ४८ अंक भएको छ ।

एक खेल कम खेलेको म्यानचेस्टर सिटीको ४७ अंक छ र उ तेस्रो स्थानमा झरेको छ । शीर्ष स्थानको लिभरपुलको २० खेलबाट ५४ अंक छ अर्थात टोटनह्याम ६ अंकले पछि रहेको छ । २१ खेलबाट १८ जोडेको कार्डिफ १६ औँ स्थानमा कायम छ ।

जितपछि टोटनह्यामका प्रशिक्षक पोकेटिनोले उपाधि दाबेदार बन्नका लागि आफ्नो टिमको प्रदर्शन अहिलेको जस्तै स्थायी रहनु पर्ने बताएका छन् ।

प्रदर्शनमा स्थायित्व नरहेमा उपाधि दाबेदारका रुपमा प्रस्तुत हुन नसकिने उनले बताएका छन् । टोटनह्याम गएको शनिबार वुल्भ्ससँग घरेलु मैदानमा ३–१ ले पराजित भएको थियो ।

Comments

comments