मेलबर्न । अष्ट्रेलियाको भिक्टोरिया राज्यका नेपाली समुदायबीच प्रतिष्ठित न्याभ कप क्रिकेट प्रतियोगिता यो वर्ष आगामी जनवरी ६ बाट शुरु हुने भएको छ ।

नेपालीहरुको साझा संस्था नेप्लीज एशोसिएसन अफ भिक्टोरिया न्याभले हरेक वर्ष न्याभ कप आयोजना गर्दै आएको छ । यस पटक विभिन्न ७ क्लबका १० टिमले सहभागिता जनाउने निश्चित भएको छ । आइतवार नेपाली राष्ट्रिय क्रिकेट टिमका क्याप्टेन पारस खड्का र भिक्टोरियाका लागि नेपाली महावाणिज्यदूत चन्द्र योन्जनले टिमको खेल तालिकाको ड्र गरेका थिए ।
न्याभ कप क्रिकेट प्रतियोगितामा दि हिमालयन क्लब, नारे किंग्स क्रिकेट क्लब, सगरमाथा क्रिकेट क्लब, गोर्खाली क्रिकेट क्लब, रोयल राईनोज क्रिकेट क्लब, एक्सपर्ट क्रिकेट क्लब र ब्रिलियन्ट क्रिकेट क्लब सहभागी छन् ।

सो अवसरमा क्याप्टेन पारस खड्काले न्याभ कपमा सहभागी सबै टिमलाई बधाई दिँदै खेलको माध्यमबाट समुदायलाई एकताबद्ध गर्नसक्ने बताए । महावाणिज्यदूत चन्द्र योन्जनले नेपालमा विद्यालय तहदेखि नै खेलाडीको विकास गर्दै क्रिकेटलाई अहिलेको अवस्थासम्म ल्याएकोमा धन्यवाद दिए ।

कार्यक्रममा न्याभका उपाध्यक्ष सन्तोष बस्ताकोटीले ठूलो पुरस्कार राशीको प्रतियोगिताको चौधौ संस्करणमा आइपुग्दा यसको लिगेसी र लोकप्रियता अझ बढेको धारणा राखे ।

खेल डोनाथ रिजर्भ रिजर्भोयरमा हरेक आईतबार हुनेछ । हिमालय कङ्गारु  प्रतियोगिताको अफिसिल मिडियाको रुपमा रहनेछ ।

Comments

comments