एजेन्सी । लगातार दुई खेलमा पराजित भएर उपाधि होडलाई केही कमजोर बनाएको साबिक विजेता म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा जित निकालेको छ ।

लिग अन्तर्गत अवे मैदानमा भएको खेलमा पेप गार्डिवलाको टिम सिटीले १० खेलाडीमा सीमित भएको साउथह्याम्पटनलाई ३–१ ले हराएको हो ।

सिटीको जितमा डेविड सिल्भा र सर्जियो अग्युरोले गोल गरे । यस्तै साउथह्याम्पटनका जेम्स वार्ड प्रोव्सीले आत्मघाती गोल गरे । साउथह्याम्पटनका लागि पिएर–एमिएल होज्बियर्गले गोल गरे ।

१० औँ मिेनटमा सिल्भाको गोलबाट सिटीले अग्रता लियो । ४५ औँ मिनेटमा साउथह्याम्पटनका जेम्सले आत्मघाती गोल गरे । त्यसअघि ३७ औँ मिनेटमा पिएर–एमिएलले घरेलु टोलीका लागि एक गोल फर्काएका थिए ।

पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा अग्युरोले गोल गरेपछि सिटीले ३–१ को अग्रता लियो ।

दोस्रो हाफमा दुवै तर्फबाट गोल भएन । तर घरेलु टोलीले एक खेलाडी गुमायो । ८५ औँ मिनेटमा गोलकर्ता पिएर–एमिएल सीधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि साउथह्याम्पटन १० खेलाडीमा सीमित भयो ।

जितपछि म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लिएको छ । उसको २० खेलबाट ४७ अंक भएको छ । शीर्षस्थानको लिभरपुलको ५४ अंक छ अर्थात सिटी लिभरपुल भन्दा सात अंकले पछि छ । तेस्रो स्थानको टोटनह्यामको ४५ अंक छ ।

प्रिमियर लिग अन्तर्गत आइतबार राति नै भएको खेलमा चेल्सीले क्रिष्टल प्यालेसलाई १–० तथा बर्नलीले वेष्ट ह्यामलाई २–० ले हराएको छ ।

Comments

comments