काठमाडौं । पछिल्ला खेलमा गोलअन्तरका आधारमा पनि उत्कृष्ट प्रदर्शन गर्दै आएको लिभरपुलले यसलाई कायम राखेको छ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा राम्रो प्रदर्शन गर्दै आएको आर्सनलमाथि जर्गेन क्लोप्पको टिम लिभरपुलले शानदार जित दर्ता गरेको छ ।

घरेलु मैदानमा भएको खेलमा लिभरपुलले आर्सनलमाथि ५–१ को जित निकालेको हो । लिभरपुलको जितमा रोबर्टो फिरमिनोले ह्याट्रिक गरे । यस्तै साडिओ माने र मोहम्मद सालहले एक–एक गोल गरेका छन् ।

सुरुवाति अग्रता लिएर पनि आर्सनल भने फराकिलो अन्तरले पराजित भएको हो । खेलको ११ औँ मिनेटमा नै अवे मैदानमा आर्सनलले अग्रता लिएको थियो । उसका लागि माइटल्याण्ड नाइल्सले गोल गरेका हुन् ।

त्यसको तीन मिनेटपछि फिरमिनोले लिभरपुलका लागि बराबरी गोल फर्काए । १६ औँ मिनेटमा फिरमिनोले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई अग्रता दिलाएका हुन् । मानेले ३२ औँ मिनेटमा गोल गरे । पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा सालहले पेनाल्टी मार्फत गोल गरेपछि लिभरपुलले ४–१ को अग्रता लियो ।

६५ औँ मिनेटमा पाएको पेनाल्टीमा फिरमिनोले गोल गर्दै ह्याट्रिक पूरा गरे । त्यसपछि आर्सनलले गोल फर्काउन सकेन र लिभरपुल ५–१ ले विजयी भयो ।

जितपछि शीर्षस्थानको लिभरपुलले आफ्नो उपाधि होडको यात्रालाई बलियो बनाउँदै लगेको छ । उसको २० खेलबाट ५४ अंक भएको छ र दोस्रो स्थानको टोटनह्याम भन्दा ९ अंकले अघि रहेको छ ।

शनिबार राति नै भएको खेलमा माउरिसिओ पोकेटिनोको टिम टोटनह्याम वुल्भ्ससँग ३–१ ले पराजित भयो । पराजित भएको टोटनह्यामको २० खेलबाट ४५ अंक छ ।

Comments

comments