• कामना न्यौपाने

‘कति नारी स्वतन्त्रता मात्र भन्नुहुन्छ तपाईं ? महिलाहरु त आवश्यक भन्दा बढी स्वतन्त्र भइसके ।’ त्यसपछि उनीहरु गाउँका विभिन्न प्रसङ्ग निकाल्न थाल्छन् । भेट हुने अशिकांश पुरुष मित्रहरुसँगको वार्तालापको साझा अंश हो यो । गाउँमा नै हुर्किएकी र अहिलेको माहोल राम्रोसँग बुझेकी मलाई उनीहरुका ती कुरा स्वभाविक लाग्छन् । तर वास्तवमा, स्वतन्त्रता भनेको के हो ? आधुनिकता भनेको के हो ? महिला सशक्तिकरण भनेको के हो ? के हाम्रो समाजले यसको अर्थ बुझेको छ ?

‘टपरी गाँस्न जानेकी छौ ?’ आमाहरु बसेर टपरी गाँसिरहेको ठाउँमा एकजना पाहुना दिदीलाई सोध्नुभयो । दिदीले पात ओल्टाईपल्टाई गरिन् र सोधिन्, ‘यसरी हो ?’ पात उल्टो थियो । एकजना आमाले हाँस्दै पात मिलाइदिँदै भन्नुभयो, ‘यसरी पो हो त ! आजकालका पढेलेखेका छोरीबुहारीलाई के थाहा विचरा !’ दिदी गमक्क फुलिन् । आमाहरुका अगाडि उनी पढेलेखेकी र आधुनिक जो प्रमाणित भइन् । यहाँ छोरीबुहारीले टपरी गाँस्नेलगायतका घरायसी काम जान्नै पर्छ भन्न खोजिएको होइन, तर गाउँमा अहिले काम गर्न नजान्नु नै पढेलेखेको तथा आधुनिक हुनुको ट्रेडमार्क बनिसकेको छ, चाहे त्यो छोरी होस् या बुहारी । के शिक्षित र आधुनिकताको अर्थ घरेलु काम गर्न नै नजान्नु हो ?

अहिले गाउँगाउँमा १२ कक्षासम्मका विद्यालय छन् । पहुँच पुगेका गाउँहरुमा आमाबुवाले छोरीलाई जेनतेन बाह्र कक्षासम्म विद्यालय पठाइरहेका छन् । आत्मनिर्भरता र सशक्तिकरणका लागि शिक्षा मुख्य आधार हो । तर गाउँघरको अहिलेको अवस्था हेर्दा यस्तो छ कि, एउटा केटीका लागि शिक्षा विवाहको आधार हो, अझ भनौँ, विदेश गएको या राम्रो जागिर गरेको श्रीमान पाउने आधार । यो मानसिकता बाबुआमाको दिमागमा भन्दा पनि बढी गाउँका छोरीहरुको दिमागमा बसेको छ । नेपालमा चलिरहेको विदेश जाने लहर, आधुनिक प्रविधिको बढ्दो प्रयोग, महँगो जीवनशैलीले गाउँको सामान्य जीवनशैलीमा हुर्किरहेका छोरीहरुको दिमाग मोडिदिएको छ । त्यो जीवनशैलीको अपेक्षामा उनीहरु विदेश गएको केटा पाउनु नै आफ्नो भाग्य तथा सफलता मानिरहेका छन् । राम्रो नतिजा ल्याएर पढिरहेका छोरीहरु आफ्नो करियर तथा पढाइलाई एकातिर पन्छ्याएर विदेशमा ‘सेटल’ भएको श्रीमानसँग ‘सेटल’ हुन लालायित छन् । या त उनीहरु नेपालमा ठूलो पदमा काम गरिरहेको व्यक्तिसँग विवाह गरेर आफ्नो त्यो ‘सफलता’मा रमाउन चाहन्छन् ।

नेपालको सामाजिक संरचनाअनुसार, विवाह गरेर केटी केटाको घरमा जान्छे । स्वाभाविक रुपले नौलो परिवारमा घुलमिल हुन र आफ्नो स्थान बनाउन गाह्रो हुन्छ । त्यसैले पनि महिला मुद्दाका कुरामा बुहारी पीडित भएका घटनाहरु बाहिर आउने गर्छन् । यही कुरालाई आधार बनाएर अहिले जबर्जस्ती आफूलाई गाउँमा पीडित देखाउने बुहारीहरुको बर्चश्व बढेको छ । छोरा विदेश गएका घरपरिवारमा यो समस्या अझ बढी देखिन्छ । बुहारी आधुनिक छिन् । उनी घरको काम गर्न जान्दिनन् । विस्तारै आर्थिक कारोबार उनी आफ्नो हातमा लिन थाल्छिन् । सासू घरधन्दा गर्छिन् । उता बुहारीले छोरालाई फेसबुकमा सन्देश पठाउँछिन्, ‘आमा आराम गरिरहनुभएको छ । मैले खाना पकाउँदै छु । घरको कामले कहिल्यै फुर्सद पाउँदिन ।’ छोरा उता मख्ख । सम्पत्ति बुहारीको नाममा जोडिन थाल्छ । अनि विस्तारै बूढा आमाबुवालाई वृद्धाश्रममा त मनको सुख मिल्थ्यो कि भन्ने लाग्न थाल्छ । के यही हो त स्वतन्त्रता ?

आफ्नो कर्तव्य पूरा गरेपछि मिल्ने अधिकार स्वतन्त्रता हो । स्वतन्त्रता भनेको आफू अझ राम्रो बन्न पाउने अवसर हो । स्वतन्त्रताले आफ्नो व्यक्तित्व विकास गर्ने अवसर दिन्छ । तर, यदि तिमीले कर्तव्य पूरा नगरेर स्वतन्त्रताको मात्र ढोल पिट्दैछौ भने त्यो ढोलको तालमा तिम्रो अहमता र विवेकहीनताबाहेक केही पनि घन्किँदैन । त्यसले तिमीलाई सशक्त बनाउने होइन कि, तिम्रो दिमागलाई झन् साँघुरो घेरामा बाँधिदिन्छ । त्यसले तिमीमा पहिले रहेको क्षमतामा समेत ह्रास ल्याइदिन्छ । कर्तव्यविहीन स्वतन्त्रताले तिमीमा हिंस्रक र विवेकहीन मानसिकताको विकास हुन्छ । यही कारणले पुरुषहरु अहिले हिंसामा परिरहेका छन् । मानसिक रुपले दोसाँधमा उभिरहेका उनीहरु शारीरिक थकानले भन्दा बढी मनको थकानले गलेका छन् ।

आमा–बाले मिलेर घरको जिम्मेवारी उठाए । सानै उमेरमा घरमा भित्रिएर दलिएकी आमाको थकान कसैले देखेन । न त कसैले अहिले उनले गरेको कामको उपलब्धी नै देख्छ । जसरी बाले घर बाहिरको जिम्मेवारी उठाए, त्यसरी नै घरभित्रको जिम्मेवारी उठाउँदा पनि आमाको कामले कहिल्यै मान्यता पाएन र बा बूढी पालेको भ्रममा बाँचिरहे । तर वास्तवमा पालिएको त अहिलेको एउटा आधुनिक वर्ग छ । महिला सशक्तिकरणको अपव्याख्या गरेर शक्ति हातमा लिने र त्यो शक्ति तथा आफ्नो अधिकारको दुरुपयोग गर्ने ‘आधुनिक’ महिला वर्ग फैलिँदै गएको छ । त्यो वर्ग, जो आफ्नो घरको साधारण काम गर्न समेत बुहारीमाथिको अन्याय मान्छ, नाताले आफूभन्दा ठूलो व्यक्तिलाई सम्मान गर्नुमा समेत आफू हेपिएको ठान्छ । फाउन्डेसन, लिपिस्टिकले रंगिएर, अत्तरको वासना छरेर हातमा महँगो मोबाइल बोक्नु र आँखामा चस्मा लगाउनुलाई आधुनिकता मान्छ । अनुशासनहीनतालाई स्वतन्त्रता ठान्छ र श्रीमानले कमाएको सम्पत्तिको लालपूर्जामा आफ्नो नाम हुनुलाई आत्मनिर्भरता मान्छ ।

त्यसैले, आत्मनिर्भरता, महिला सशक्तिकरण र अधिकारका आवाज उठाइरहँदा ती शब्दको सही अर्थ बुझाउनु आवश्यक भएको छ । अधिकार प्राप्तिबारे सचेत बनाउँदा त्यो अधिकारको सदुपयोगबारे पनि सचेत बनाउनु जरुरी छ । यी सबै कुराहरु पनि समाजको लैंगिक असमानताको नै नतिजा हो, जहाँ महिला सधैँ कमजोर तथा पीडित देखिन्छे र ऊ सधैँ आर्थिक रुपमा परनिर्भर हुन्छे । त्यसैले छोरीहरुलाई श्रीमान पाउन होइन आत्मनिर्भर तथा सशक्त बन्न पढ्न प्रेरित गरिनुपर्छ । घरको आर्थिक व्यवहारमा छोरीलाई पनि सामेत गरिनुपर्छ, जसले गर्दा उसले पछि आफ्नो आर्थिक व्यवहारको जिम्मेवारी सही ढंगले र सहज तरिकाले पूरा गर्न सक्छे । अर्को कुरा, अहिलेका युवा युवतीले आधुनिकता भनेको महँगो जीवनशैली होइन, विचारको क्रान्ति हो भन्ने बुझ्नु जरुरी छ ।

विचारको क्रान्ति, समानताका कुरा, महिलावादको कुराका लागि तिमी आन्दोलनमै उत्रिनु जरुरी छैन । आफूले सम्मान पाउनका लागि अरुलाई दमन गर्नु आवश्यक छैन भन्ने बुझ । घरेलु काम गर्नु हुँदैन भन्ने होइन, घरेलु काम पनि मिलेर गर्न सकिन्छ र घरको जिम्मेवारी उठाएको व्यक्तिलाई उसको भूमिकाको लागि व्यवस्थापकका रुपमा समान रुपले सम्मान गरिनुपर्छ । आत्मनिर्भरता भनेको आफ्नो नामको बैंक खातामा पैसा हुनु, लालपुर्जामा आफ्नो नाम हुनु होइन, त्यो पैसा आफ्नो खातामा आउन त्यो लालपुर्जामा आफ्नो नाम आउन तिमीले पूरा गरेको जिम्मेवारी के हो ? स्वमूल्यांकन गर । आफ्नो अधिकारको प्रयोग गरिरहँदा तिमीले अरुको अधिकार हनन गरिरहेको त छैनौ ? वरपर हेर । आफ्नो स्वतन्त्रताका लागि अरुमाथि हिंसा गर्नु अपराध हो भन्ने बुझ । अन्याय आफूमाथि पनि हुन नदेऊ र आफूले अरुमाथि पनि नगर ।

महिलावाद भनेको महिला शासन चलाउने र पुरुष जोतिने भन्ने होइन । महिलावादको अर्थ महिला–पुरुष दुवै मिलेर घर, समाज, देश र विश्वलाई गतिशील बनाउनु हो । एकअर्काको भूमिकालाई सम्मान गर्नु हो । एकअर्कालाई सम्मान गर्नु हो । हिंसारहित घर, समाज, देश तथा विश्व निर्माण गर्नु हो । र, यो सधैँ सम्झिराखौँ कि, छोरीको जीवनको गन्तव्य नै विवाह गर्नु होइन । कुनै पनि केटीको जीवनको सफलता र असफलता मापन गर्ने आधार उसको विवाहपछिको जीवनशैली होइन । आत्मनिर्भर बन, सशक्त बन र शीर उच्च बनाएर बाँच, ताकि भविष्यमा तिम्रा छोराछोरीले तिम्रो श्रीमानलाई मात्र होइन, तिमीलाई पनि आफ्नो ‘रोलमोडल’ मानून् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments