काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्षणिक उत्तेजनामा आएर जनताको बलिदानबाट प्राप्त संविधानलाई कमजोर पार्ने खेल खेल्न नहुने बताएका छन् ।

प्रकाश विकल्पको ‘देश किन बनेन’ पुस्तकको विमोचन गर्दै उनले सङ्कीर्ण स्वार्थका कारण संविधानबाट निर्मित प्रणाली र संरचनालाई कमजोर पार्ने भूल कसैले पनि गर्न नहुने बताए ।

उनले भने, ‘राष्ट्रिय एकता र सहमतिबाट बनेको संविधानलाई कमजोर पार्ने अभ्यास भइरहेको छ, संविधानका आधारस्तम्भका रुपमा रहेका गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी समानुपातिक प्रणाली र सङ्घीयतालाई असफल पार्ने दुश्प्रयास मुलुकका लागि भयानक गल्ती ठहरिनेछ ।’

कांग्रेस भित्र हिन्दु राज्यको पक्षमा बहस सुरु भएकोमा उनले आपत्ति जनाए । ‘जनताको ठूलो बलिदानीपूर्ण संघर्षबाट प्राप्त धर्म निरपेक्षताबाट पछि हटेको हो भने कांग्रेस समाप्त भएर जान्छ, संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशीता अहिलेको संविधानको मुख्य खम्बा हुन् त्यसको एउटा खम्बा भत्काएर सिँगै घर भत्काउने दुश्प्रयास नगर्न पनि कांग्रेस नेतृत्वलाई सचेत गराउन चाहन्छु,’ उनले भने ।

वर्तमान संविधानको ‘पिता’ ठान्ने कांग्रेसले पार्टीका तत्कालीन सभापति शुशिल कोइरालालाई ‘स्वर्ग’बाट ‘नर्क’मा झार्न हिन्दु राज्यको पक्षमा बहस सुरु गरेको अध्यक्ष दाहालको दाबी छ ।

जनताको समृद्धिको चाहना पूरा गर्न सरकार क्रियाशील रहेको बताउँदै दाहालले विकास र समृद्धिमार्फत जनतालाई सामाजिक न्याय प्रदान गर्न सम्पूर्ण ताकतलाई त्यसतर्फ केन्द्रित गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘देशलाई समृद्धिको युगतर्फ लैजाने सकिने सम्भावना प्रशस्त छन्, हामी एक दशकभित्र नयाँ आकारको नेपाल बनाउन सकिन्छ भन्ने निष्कर्षमा पुगेका छौँ । नेपालीको ज्ञान, सीप, प्रकृतिले समृद्ध नेपाल बनाउने सामग्री प्रदान गरेको छ ।’

उनले संविधान कार्यान्वयन र समृद्धिका यात्रामा देखिएका कमीकमजोरी सच्याउँदै जनआकाङ्क्षाअनुसार अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । मुलुकमा नयाँ प्रणालीसहितको सरकार गठन भएको उल्लेख गर्दै अध्यक्ष दाहालले सरकार सञ्चालनका क्रममा केही जटिलता देखिएपनि त्यसलाई हल गरेर अगाडि बढ्ने प्रष्ट्याए ।

Comments