एजेन्सी । स्पेनको क्लब रियल मड्रिड एकपटक फेरि क्लब फुटबलमा विश्व च्याम्पियन बनेको छ । युरोपियन च्याम्पियनको रुपमा क्ल्ब वर्ल्ड कप खेलेको रियल मड्रिडले शनिबार राति भएको खेलमा जित निकाल्दै उपाधि उचालेको छ ।

विश्व फुटबलको प्रशासकीय निकाय फिफाले हरेक वर्ष महादेशीय विजेता क्लबबिच क्लब वर्ल्ड फुटबल प्रतिस्पर्धा राख्दै आएको छ ।

यसमा युरोपियन च्याम्पियन रियल मड्रिडले यो वर्ष संयुक्त अरब इमिरेट्स ९युएई० को क्लब अल एइनलाई ४–१ ले हराउँदै उपाधि उचालेको हो ।

अबुधाबीमा भएको खेलमा जित निकालेको रियल मड्रिडले लगातार तेस्रो सिजन तथा समग्रमा चौथोपटक उपाधि उचालेको हो । दुवै हिसाबमा रियल मड्रिडले कीर्तिमान बनाएको हो ।

रियल मड्रिडले लगातार तीन सिजन च्याम्पियन्स लिगको उपाधि जित्यो र त्यसपछि क्लब वर्ल्डकको उपाधि पनि ।

रियल मड्रिडको जितमा लुका मोड्रिक, मार्कस लोरेन्टे, सर्जियो रामोसले गोल गरे । अल एइनका नादर मुस्तफा एलशरिपले आत्मघाती गोल गरे । यस्तै अल एइनका लागि शिओतानीले एक गोल फर्काए ।

१४ औँ मिनेटमा मोड्रिकको गोलबाट रियल मड्रिडले सुरुवाति अग्रता लियो । पहिलो हाफमा १–० को अग्रता लिएको रियल मड्रिडका लागि ६० औँ मिनेटमा लोरेन्टे तथा ७८ औँ मिनेटमा रामोसले गोल गरे । ८६ औँ मिनेटमा शिओतानीले अल एइनका लागि एक गोल फर्काए ।

इन्जुरी समयको पहिलो मिनेटमा अल एइनले आफ्नै खेलाडीबाट गोल खायोे । नादरले आत्मघाती गोल गरेपछि रियल मड्रिडको ४–१ को जित निश्चित भयो ।

सेमिफाइनलमा ह्याट्रिक गरेका ग्यारेथ बेलले गोल गर्ने राम्रो प्रयास गरेका थिए, तर सफल हुन सकेनन् ।

सन् २००० देखि सुरु भएको प्रतिस्पर्धामा रियल मड्रिड सबै भन्दा सफल क्लब बनेको छ । उसले अर्को स्पेनिस क्लबलाई पछि पारेको छ । बार्सिलोनाले तीनपटक उपाधि जितेको छ ।

Comments