शुक्रबार बिहान आएको पहिरोले घर बगाउँदा गुल्मीको अग्लुङ-८ को नेपाने गाउँमा एकै परिवारका ८ सहित ९ को मृत्यु भएको छ । गए राति परेको पानीसँगै आएको पहिरोमा पुरिइ घरमुली भविलाल कुँवर, उनकी श्रीमती चेती कुँवर, बुहारी सीता कुँवर, नाती चेतमान कुँवर र भीम कुँवर, नतिनी विपना कुँवर र बिन्दु कुँवर, भिमी कुँवर, हरिकला कुँवर, विपना कुँवर र झुठी विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

घटनास्थल विकट गाविसमा रहेकाले इलाका प्रहरी कार्यालय पुर्कोट दहबाट बिहानै टोली हिंडे पनि पुगिनसकेको प्रहरीले जनाएको छ । सदरमुकाम तम्घासबाट विकटमा पर्ने यो गाविसमा विहिवार वर्षा भएको थियो । उत्तरी प्यूठानमा बाढीसहित आएको पहिरोमा परि ३ जनाको मृत्यु भएको छ ।

एकजना बेपत्ता र एकजना घाईते भएका छन् । खुङ गाविसको वडा नं–८ मा गएराती आएको पहिरोमा परेर २१ बर्षिया आयुसा गिरी, १० महिनाका आशिष गिरी र ५४ वर्षिया देवा भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख दिपक रेग्मीले जानकारी दिनुभयो । बेपत्ता एक जनाको खोजी जारी राखिएको प्रहरीले जनाएको छ ।

Please follow and like us:

Comments