आराम छु आरामको कामना गर्दछु | यहाँ मलाई सन्चै छ तिमीलाई कस्तो छ ?  भनेर चिठी लेख्ने अनि हुलाक मार्फत आफ्ना प्रियतमलाई पठाउने जमाना छैन अब | पहिले पहिले गाउघरमा चिठी बोकेर घर घरै पुग्ने हुलाकी हिजो आज चिनिदैन | चिठीपत्रको छाप घटे संगै उनीहरुको सामाजिक सम्बन्ध समेत टाढिएको छ | हिजो आज हुलाकीलाई कार्यलयका चिठी बोकेर सम्बधित  कार्यालयमा पुग्नु बाहेक अन्त घुम्नु पर्दैन |  देशभर बिना रोमिंग फ्री कलका सुबिधा , इन्टरनेट प्रबिधिमा घन्टौ सम्म भिडियो तस्विर समेत हेर्दै कुरा गर्न मिल्ने लगभग निशुल्क सेवा उपभोग गर्ने बानि परेका पछिल्लो पुस्तालाई समय संगै हुलाकको चिठी आदानप्रदान गर्ने कुरा अब एकादेशको कथासुनाए सरह हुने भइ सकेको छ | बितेका केहि दशकमा सञ्चारमा आएको क्रान्तिकारी परिवर्तनका कारण हुलाक सेवा अहिले कम प्रयोगमा आइरहेको छ।  तर पनि हुलाकको आफ्नै महत्व छ जसका कारण आजक दिन सम्म पनि पश्चिमी बिकशित मुलुकमा समेत हुलाकको अधिक प्रयोग जारी नै छ |

नेपालमा पनि देशभर ५ वटा क्षेत्रीय हुलाक निर्देशनालय छन्। यी मध्ये मध्यमाञ्चल बाहेकका ४ वटाले जिल्ला हुलाकको समेत काम गर्छन्। गोश्वारा हुलाक कार्यालय काठमाडौंमा मात्र छ। ७५ जिल्लामा जिल्ला हुलाक कार्यालय छन्। इलाका हुलाक कार्यालयको संख्या ८ सय ४२ छ। यी मध्ये १ सय ७० ओटा हिमाली क्षेत्रमा छन्, ३ सय ७२ पहाडी क्षेत्रमा र ३ सय तराई क्षेत्रमा छन्। देशभर ३ हजार ७४ अतिरिक्त हुलाक कार्यालय छन्। ४ सय ९२ हिमाली क्षेत्रमा, १ हजार ५ सय ४१ पहाडी क्षेत्रमा र १ हजार ४१ अतिरिक्त हुलाक कार्यालय तराई क्षेत्रमा छन्। सर्वसाधारणले घरायसी चिठी पत्र आदानप्रदान गर्न हुलाकको प्रयोग छाडी सकेको भए पनि कार्यालय प्रयोजनका लागि हुलाकको उपयोगिता उत्तिकै छ | 

नेपालमा हुलाक सेवा वि.सं. १९३५बाट हुलाक घरको स्थापना भई सुरू भएको हो। हुलाक ऐन, २०१९ कार्यान्वयनमा आएपछि सो ऐनद्वारा निर्धारित कार्यहरू हुलाक सेवा विभागले सम्पादन गर्दै आएको छ। प्रचलित कानून र अन्तर्राष्ट्रिय सन्धी सम्झौताका आधारमा नेपाली जनतालाई शीघ्र तथा विश्वसनीय रूपमा चिठ्ठीपत्र पहूँच एवं “धनादेश” सुविधा प्रदान गर्नु यस विभागको प्रमुख उद्देश्य हो। हुलाकको काम चिठ्ठीपत्रहरू सम्वन्धितसमक्ष पुर्‍याउने, हुलाक टिकट प्रकाशन गर्ने, धनादेश व्यवस्था गर्ने, बचत बैंक सञ्चालन गर्ने हो ।

१९३५ सालमा ‘नेपाल हुलाक घर’ बाट सुरु भएको सेवा कुनै बेला खबर आदानप्रदान गर्ने एकमात्र साधन बनेको थियो । १९३८ मा पहिलोपल्ट ‘हुलाक टिकट’ चलनमा आयो । २००० पछि हुलाक सेवालाई केही व्यवस्थित बनाइयो । राणाकालमा पनि हुलाकको इतिहास रहेको पाइन्छ । त्यतिबेला ‘थाप्ले र कागत्या हुलाक’ थिए । तिनले शासकहरूका ‘आदेशपत्र’ बोक्ने काम गर्थे । सूचना प्रविधिको तीव्रतर विकासले हुलाक अहिले कमैमात्र प्रयोग गरिन्छ । 

विश्व हुलाक दिवस नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाईंदैछ । संसारभरको हुलाक सेवालाई स्तरीय र सुदृढ बनाउने उद्देश्यले विश्व हुलाक स्थापना भएको दिनको अवसरमा हरेक वर्ष अक्टोबर ९ तारिखमा यो दिवस मनाउने गरिन्छ ।विश्व हुलाकको सन् १८७४ मा स्थापना भएको थियो । त्यसपछि हुलाक सेवालाई प्रभावकारी र यसको उपयोग बढाउने उद्देश्य सहित यो दिवस मनाउन थालिएको हो । पछिल्लो समयमा ईमेल, ईन्टरनेटको विकाससँगै हुलाक सेवाको प्रभावकारिता घटेको छ ।

 

 

Comments

comments