मेलबर्न । अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पामाथि लागेको मानव तस्करीको संलग्नताबारे निष्पक्ष छानविन गर्न सत्तारुढ दल निकट प्रवासी संगठनहरुले माग गरेका छन् ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका प्रवासी संगठनले अष्ट्रेलियामा राजदूत लक्की शेर्पाका विषयमा पछिल्लो समय सार्वजनिक भइरहेका विषयको वैज्ञानिक छानविन गर्न माग गरेका हुन् । प्रवासी नेपाली मञ्च अष्ट्रेलियाका अध्यक्ष रमेश पाण्डे र जनप्रगतिशील मञ्च अष्ट्रेलियाका अध्यक्ष माण्डवराज कार्कीले संयुक्त विज्ञप्ति जारी गर्दै राजदूत शेर्पामाथि लगाइएको आरोपको यथोचित छानविन गर्न माग गरेका हुन् ।

दुवै संगठनको विज्ञप्तिमा लेखिएको छ :

“नेपाल सरकारद्वारा अष्ट्रेलियाका लागि नियुक्त नेपालका राजदूत लक्की शेर्पाका विषयमा नेपाल र अष्ट्रेलियाका सञ्चार माध्यम, सामाजिक सञ्जाल र सार्वजनिक स्थल तथा सामुदायिक कार्यक्रममा समेत विवादास्पद कुराहरु सार्वजनिक भइरहेको विषयप्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ ।

नेपाल राष्ट्र र यहाँ रहेको नेपालीको प्रतिष्ठालाई ध्यानमा राखी नेपाल सरकारलाई यस गम्भीर र विवादास्पद विषयमा निष्पक्ष र वैज्ञानिक अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाई दोषीलाई कानून बमोजिम कारवाही गर्न हार्दिक अनुरोध गर्दछौं ।”

नेपालबाट प्रसारण हुने एक टेलिभिजन कार्यक्रम मार्फत अष्ट्रेलियामै रहेका वाङ्छे शेर्पाले राजदूत शेर्पा र उनका श्रीमान मानव तस्करीमा संलग्न रहेको आरोप लगाएका थिए । आरोपको खण्डन गर्दै दूतावासले भने वाङ्छे शेर्पा दूतावास कार्यालयका पूर्व चालक रहेको र हाल उनी फरार अभियुक्त रहेको दाबी गरेको छ ।

Comments

comments