एजेन्सी । स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले पछिल्ला हरेक खेलमा गोल गर्दै आएका छन् । इटालियन सिरी ए फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा अपराजित युभेन्टसले फियोरेन्टिनालाई ३–० ले हरायो ।

यसक्रममा युभेन्टसका लागि रोनाल्डोसहित रोड्रिगो बेनटाकुर्स र जर्जियो चिलिनीले गोल गरे । ३१ औँ मिनेटमा बेनटाकुर्सले गोल गर्दै युभेन्टसलाई सुरुवाति अग्रता दिलाए ।

६९ औँ मिनेटमा चिलिनीले गोल गर्दै अग्रता दोब्बर बनाए । ७९ औँ मिनेटमा पाएको पेनाल्टीमा रोनाल्डोले गोल गरेपछि युभेन्टस ३–० ले विजयी भयो । रोनाल्डोले सिरी ए मा १० गोल गरिसकेका छन् ।

रोनाल्डोले गोलको सेलिब्रेसनका लागि पहेँलो कार्ड पाए । उनले गोल गरेपछि बल समातेर माथि आकाशमा हानेका थिए ।

लगातार आठौँ सिजन उपाधि जित्ने होडमा रहेको युभेन्टसले यो सिजनका १४ मध्ये १३ खेल जितेको छ र एक खेलमा बराबरीमा रोकिएको छ । अर्थात अहिलेसम्म युभेन्टस सिरी ए मा अपराजित छ । उसको १४ खेलबाट ४० अंक भएको छ । दोस्रो स्थानको नापोलीको १३ खेलबाट २९ अंक छ ।

Comments

comments