मेलबर्न । अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई दूतावासमै सहयोगीको रुपमा कार्यरत वाङछु शेर्पाले लगाएको संगीन आरोपको नेपाली दूतावास क्यानबेराले खण्डन गरेको छ ।

बिहीबार नेपालबाट प्रसारण हुने एक टेलिभिजन कार्यक्रममा वाङछु शेर्पाले राजदूत शेर्पा मानव तस्करीमा संलग्न भएको आरोप लगाएका थिए । उनले राजदूत शेर्पाका लागि आफुले पैसा उठाउने गरेको भन्दै ६४ लाख विभिन्न व्यक्तिहरुबाट लिएको बयान दिएका थिए ।

यस विषयमा शुक्रबार एक विज्ञप्ति प्रकाशित गर्दै नेपाली दूतावास क्यानबेराले आरोपहरु असत्य भएको भन्दै खण्डन गरेको छ । विज्ञप्तिमा निज वाङछु शेर्पा एक वर्षअघि नै कारवाहीको सिफारिश गरिएका व्यक्ति भएको खुलाएको छ । एक वर्ष पहिले परराष्ट्र मन्त्रालयमा गरिएको पत्राचार पनि दूतावासले सार्वजनिक गरेको छ । यस्तै दूतावासले यहाँको अष्ट्रेलियन परराष्ट्र मन्त्रालयमा पनि घटनाबारे जानकारी गराएको उल्लेख गरेको छ । नेपालमा निज शेर्पाकी श्रीमती थुनामा रहेकी छिन् । उनलाई ठगीको मुद्दामा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

नेपाली दूतावास क्यानबेराले निज वाङछु शेर्पा अष्ट्रेलियामा लुकीछिपी बसेर अदालतलाई प्रभावित पार्ने र व्यक्तिगत छवि धमिल्याउन आरोप लगाएको जनाइएको छ । यस्तो झुठा आरोपमा विश्वास नगर्न पनि दूतावासले आग्रह गरेको छ ।

Comments

comments