काठमाडौं । गोंगबुको आफ्नै होटलबाट बेपत्ता सात वर्षीय बालक प्रयास कुँवरको अपहरण भएको एक घण्टामै हत्या भएको रहस्य खुलेको छ।

मंगलबार गो‌ंगबुस्थित स्वस्तिका त्रिवेणी गेस्ट हाउसका सञ्चालक प्रविण कुँवरका सात वर्षीय छोरा प्रयास कुँवरको होटलकै गाडी चलाउने स्याङ्जाका महेन्द्र एसकेले चकलेट खान दिएर अपहरण गरेको प्रारम्भिक बयान दिएका छन्।

बेलमन इन्टरनेशनल स्कुलमा कक्षा १ मा अध्ययनरत कुँवर उक्त दिन तीन बजे स्कुलबाट घर आइपुगेका थिए।

बाबु प्रविण कुँवर आमा दुवै गौंगबुस्थित विनायक अस्पलातमा गएको समय पारेर बालकको अपहरण भएको अनुसन्धानमा सहभागी अधिकारीहरुले जनाएका छन्।

पाँच बजे अस्पताल गएका बाबुआमा साढे ६ बजे होटल फर्कँदा छोरा होटलमा नभएपछि सोधखोज सुरु गरेका थिए।

हत्याको आरोपमा पक्राउ परेका एसके पनि सो समयमा होटलमा नभएको बाबुआमाले बताएका छन्।

छोरा नभेटिएपछि उनीहरुले चालक एसकेलाई फोन गरेर सोधेको र उनले बालक आफूसँग नभएको जवाफ दिएका थिए।

बाबुआमाका अनुसार बालक र चालक एकैसाथ हराएका थिए। बालकसँगै हराएका चालक एसके भने ७ बजेर ४९ मिनटमा सम्पर्कमा आएका थिए। ती चलक एक महिनदेखि उक्त होटलको गाडी चलाउँदै आएका थिए।

अनुसन्धानमा संलग्न अधिकारीहरुले त्यही समयमा बालकको हत्या भएको हुनसक्ने बताएका छन्।

महानगरीय प्रहरी अपराध महाशाखाले एसकेलाई बिहीबार बिहान पक्राउ गरेको हो। पक्राउ परेपछि उनले दिएको बयानकै आधारमा प्रहरीले बालकको शव फेला पारेको हो।

Please follow and like us:

Comments