एजेन्सी । स्पेनिस क्लब एथ्लेटिको मड्रिड च्याम्पियन्स लिग फुटबलको नकआउट चरणका लागि छनौट भएको छ ।

समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा एथ्लेटिको मड्रिडले समस्यामा रहेको थिएरी हेनरीको टिम मोनाकोलाई हराउँदै एक खेल बाँकी हुँदै अन्तिम १६ मा स्थान पक्का गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा एथ्लेटिकोले मोनाकोलाई २–० ले हराएको हो । एथ्लेटिकोका लागि कोके र एन्टोनी ग्रिजम्यानले गोल गरे । कोकेले दोस्रो मिनेटमा नै गोल गर्दै टिमलाई अग्रता दिलाए । २४ औँ मिनेटमा ग्रिजम्यानले गोल गरेपछि एथ्लेटिकोको अग्रता दोब्बर भयो ।

दोस्रो हाफमा दुवै तर्फबाट गोल हुन सकेन । ८२ औँ मिनेटमा स्टेफान साविक दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि एथ्लेटिको मड्रिड १० खेलाडीमा सीमित भयो । मोनाकोले पाएको पेनाल्टीमा गोल गर्न सकेन । मोनाकोका राडामेल फाल्काओ पेनाल्टीमा चुके ।

जितपछि शीर्ष स्थानमा उक्लिएको एथ्लेटिकोको १२ अंक भएको छ । राति नै भएको खेलमा क्लब ब्रुगसँग गोल रहित बराबरीमा रोकिएको बोरुसिया डर्टमुण्ड १० अंकसहित दोस्रो स्थानमा छ । उसले पनि अन्तिम १६ मा स्थान पक्का गरेको छ ।

बुधबार राति नै समूह डी अन्तर्गतको खेलमा एफसी पोर्टोले शाल्केलाई ३–१ तथा लोकोमोटिभ मस्कोले गालाटासारेलाई २–० ले हरायो । यो समूहबाट पोर्टो र शाल्के नकआउट चरणमापुग्ने निश्चित भएको छ ।

Comments

comments