– विदुर लामिछाने

तिमीलाई पाउन भनि
म कापी कलम बोकेर
आमाको दुध,
दादाको काख र
बाबाको हलो छोडी निस्केको थिएँ

हजुरआमाको हातको गाँस,
मैले खेल्ने हजुरबुवाको लौरी
मेरा ती सबै प्रिय चिज छोडी
तिमीलाई नै पाउन निस्केको थिएँ

तिमी कति महँगो अवसर ?
तिमीलाई पाउन सबै त्याग्नुपर्ने !
मेरो गल्ती के,
तिमीलाई पाउन यतिका वर्ष भौतारिनुपर्ने !

तिमी किन मौन छौ ?
मैले सोधेका प्रश्नको जवाफ खोइ ?
तिम्रै प्राप्तिको लागि मैले छोडेर हिंडेका
मेरा बा-आमा, दादा
अनि ती बूढा हजुरबा-आमालाई म के उत्तर दिउँ ?
बीस वर्ष पछि पनि खाली हात जाउँ ?

सयौं शिक्षक परिवर्तन गर्नुपर्ने,
आफ्ना भन्नेहरुबाट टाढा हुनुपर्ने
आफ्नो ठाउँ परिवर्तन गर्नुपर्ने,
हजारौं साथी परिवर्तन गर्नुपर्ने,
आफ्नै सपना र आकांक्षा परिवर्तन गर्नुपर्ने ,
तर पनि तिमी भागिरहन्छौ
तिमी कति निष्ठुरी रहेछौ अवसर !

तिम्रो लागि म शब्दभण्डारमा हराउनुपर्ने
गह्रौं मन लिएर शहर चहार्नुपर्ने
भोको पेटमा पनि मुस्कुराउनुपर्ने
अनि तिमी ?
तिमी कहाँ अदृश्य भएर मुस्कुराइरहेछौ अवसर ?

तिम्रो खोजीमा म कहाँ जाउँ ?
कुन नेताको, कुन कर्मचारीको समिपमा जाउँ ?
हिमाल, पहाड, तराई
कहाँ जाउँ ?
सुनन अवसर
म तिम्रो खोजीमा
नारायणी, बागमती, कोसी
मेची, महाकाली
कुन किनारमा जाउँ ?

प्रिय अवसर, तिमी कहाँ छौ ?

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments