मेलबर्न । अष्ट्रेलियााको सिड्नीमा मंगलवार रातिदेखि शुरु भएको हावाहुरीसँगै भारी वर्षातका कारण एकजनाको ज्यान गएको छ ।

ट्राफिक तथा राजमार्ग नियमन अधिकारीले जनाए अनुसार बुधवार विहान ९ बजेर १० मिनेटमा थनबेरीमा दुई सवारी साधन एक आपसमा ठोक्किदा एकजनाको मृत्यु भएको छ । बाढीमा फसेका सवारी चालकहरुलाई सहयोग गर्न जुटेका दुई जना प्रहरी अधिकारीको चिप्लिएर खुट्टामा चोट लागेको समाचारमा उल्लेख छ । राजमार्गहरुमा ठाउँठाउँमा रुख ढलेर सडक अवरुद्ध बनेको छ ।

लगातारको भारी वर्षाका कारण यहाँको जनजीवन प्रभावित भएको छ । साउथ कोलमा अवस्थित एउटा विद्यालयको छानो नै हुरीले उडाइदिएको छ । शिक्षा विभागले बुधवार यहाँका सबै शिक्षण संस्थाहरु बन्द रहने घोषणा गरेको छ ।

हावा हुरीका कारण विद्युत वितरण प्रणाली अवरुद्ध हुँदा यहाँका करिब ६६०० घर र उद्योगमा विद्युत सेवा बन्द गरिएको छ । विद्युत नहुँदा इन्टरनेट र अन्य नेटवर्क सेवाहरु समेत प्रभावित भएको छ ।

बस सेवाहरु एक घण्टासम्म ढिला हुनसक्ने पूर्व जानकारी गराइएको छ भने रेल्वे सेवाहरु समेत केही ढिलाइ हुनसक्ने चेतावनी दिइएको छ ।

यसैबीच बुधवार विहान बाढीका कारण बन्द गरिएको यहाँको प्रसिद्ध एन्ज्याक पुल भने पुनः सञ्चालनमा आएको छ ।

Comments

comments